प्रधानमन्त्रीको ध्यान सत्ता समिकरणलाई मिलाउदै कुर्सी बचाउनमा नै केन्द्रीत छ : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कुर्सी जोगाउनेमा ध्यान केन्द्रीत हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।

बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समिकरणलाई मिलाउदै कुर्सी बचाउनमा नै केन्द्रीत भएको भन्दै यसका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसंग काम गर्न सक्ने धारणा राखे । विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले आउन नसकेको धारणा राखे । बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खाने बाहेक केहि नदेखिएको उनको भनाइ छ ।

त्यस्तै विप्लवले अमेरिकालाई खुसी पार्न एमसीसीमा सम्झौता गरेको भन्दै अव अमेरिकाले निरन्तर नेपाललाई च्याप्दै जाने र त्यसको शिकार प्रचण्ड हुने जिकिर गरे ।

उनले माओवादीहरुले अव आफुलाई नबल्ने हो भने भयानक बिचल्लीमा जाने अवस्थामा आउने बताए । जनयुद्धका क्रममा राज्यबाट पीडितहरुको न्यायलाई राज्यको बन्दुकको छाँयाले दवाएर राखेको उनले बताए । उनले सत्ताको बन्दुक हावी भएकाले जनताको सन्तुष्टीलाई पुरा गर्ने गरि आन्दोलन हुन नसकेको पनि बताए ।