भारतमा दुई रेल ठोकिँदा १५ जनाको मृत्यु, ६० व्यक्ति घाइते

पश्चिम बङ्गालको दार्जिलिङमा सोमबार बिहान कञ्चनजङ्घा एक्सप्रेस (१३१७४) लाई मालवाहक रेलले ठक्कर दिँदा १५ जनाको मृत्यु भएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार अहिलेसम्म घटनास्थलबाट १५ जनाको शव निकालिएको छ भने ६० जना घाइते भएका छन्।

दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसन नजिकै स्थानीय समय अनुसार बिहान करिब नौ बजे मालबहाक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उहाँ स्तब्ध भएको उल्लेख गर्नुभएको छ । जिल्ला मजिस्ट्रेट, प्रहरी अधिक्षक, चिकित्सक, एम्बुलेन्स र विपद् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटनास्थलमा खटाइएको छ ।

घटनाको अनुसन्धान भइरहेकोले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ ।