विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा

काठमाडौं । विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन् । उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् ।

नेपालमा पहिलोपटक हुन लागेको विश्व बैंकको उच्चस्तरीय बैठक ४ असारदेखि तीन दिनसम्म चल्ने छ । उनले यस बैठकको अध्यक्षता समेत गर्ने छन् । यो बैठकमा न्यून आय भएका मुलुकलाई विश्वबैंकको सहायताबारे रणनीति तय गर्ने छ ।

यसअघि सरकारले यो सम्मेलनमा विश्व बैंकका अध्यक्ष अजय बंगा सहभागी हुने बताएको थियो । तर, सिनियर प्रबन्ध निर्देशकले बैठकको अध्यक्षता गर्ने भएसँगै अध्यक्ष भने नेपाल नआउने भएका छन् । ट्रोटसनबर्ग बंगापछि विश्वबैंकका दोस्रो वरियताका अधिकारी हुन् ।

नेपालमा ट्रोटसनबर्ग पाँच दिनसम्म रहनेछन् । त्यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव बैकुण्ठ अर्यातसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।

साथमा उनले विकास साझेदारहरूसँग समेत भेट गर्ने विश्व बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) विश्व बैंकको एक अभिन्न अंग हो । जसले न्यून आय भएका देशलाई मद्दत गर्छ । काठमाडौंमा चल्ने २१औं आईडीए बैठकमा ६५ भन्दा धेरै विकास साझेदार र मुलुकका प्रतिनिधिले भाग लिने बताइएको छ ।