कारण काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द

काठमाडौं । ट्याङ्कर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण राजधानीमा पेट्रोल अभाव देखिएको छ ।थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरु व्यवसायीहरुले रोकेका छन् ।ट्याङ्कर राजधानी छिर्न नपाएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् ।

 पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघले ७ बुँदे माग राखेर आइतबार आन्दोलन गरेसँग काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा इन्धनको आपूर्ति अवरुद्ध भएको छ । इन्धनको आपूर्ति अवरुद्ध हुँदा पम्पहरुमा इन्धन भर्न सवारी साधनको लाइन लागेको छ ।

संघमा आवद्ध ढुवानी चालकहरुले पूर्वघोषित कार्यक्रम अनुसार ट्याँकरको साँचो सवारी सञ्चालकलाई हस्तान्तर गरेर ढुवानी अवरुद्ध गर्दा काठमाडौं उपत्यकामा इन्धनको आपूर्ति अवरुद्ध भएको हो । चालकहरुले चालक र सहचालकले श्रम ऐन अनुसार नियुक्तिपत्र पाउनुपर्ने तथा सरकारले तोकेको तलब पाउनुपर्ने माग गरेका छन् ।

यस्तै स्वरोजगारको हकमा मात्र लागु भएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, इन्धन ढुवानी गर्दा इन्धनको तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सर्तकता सम्बन्धी तालिम उपलब्ध गराउनुपर्ने माग राख्दै ढुवानी चालकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले चालकको आन्दोलनका कारण डिपोबाट पम्पसम्म इन्धन ढुवानी नभएको जानकारी दिए । पम्पहरुमा शुक्रबारसम्म मात्रै इन्धन ढुवानी भएको थियो ।

प्रधानका अनुसार शुक्रबार प्राप्त भएको इन्धनबाट केही पम्प‍ले थोरथोरै परिमाणमा आइतबार इन्धन बिक्री गरेका थिए । इन्धनको मौज्दात सकेको पम्पहरुले आइतबार इन्धन बिक्री गर्न पाएका छैनन् ।

नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र साझा पेट्रोल पम्पले आफ्नो ट्यांकरबाट इन्धन ढुवानी गरि बिक्री वितरण गरिरहेका छन् । थानकोटस्थित निगमको डिपोमा सयभन्दा धेरैवटा ट्यांकरहरु थन्किएका छन्।

काठमाडौं उपत्यकामा १ सयको हाराहारीमा पेट्रोल पम्पहरु रहेका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौं उपत्यकामा दैनिक ८०० किलोलिटर डिजेल र सोही परिमाणमा पेट्रोलको खपत हुने गरेको छ ।

उनले आन्दोलनरत मजदुरसँग वार्ता भइरहेको जानकारी दिए ।