ओली–प्रचण्ड सहकार्य संकटमा परेकै हो त ?

गत शनिबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका उही आशयका सरकारविरोधी अभिव्यक्ति सार्वजनिक भए । रास्वपाका नेता तथा स्वयं सरकारमा रहेका मन्त्री विराजभक्त श्रेष्ठले सरकार परम्परागत शैलीमा चलिरहेको बताउँदै यही अवस्था रहे सरकारमा बस्नुको औचित्य नहुने स्पष्ट पारे । खल्तीमा राजीनामा बोकेर हिँडेको पनि उनको भनाइ थियो । 

त्यही दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सरकार र त्यसमा पनि माओवादीप्रति विशेष रोष प्रकट गरे । बजेट प्रधानमन्त्री र अर्थमन्त्रीको दल माओवादी) केन्द्रित भयो भनेर आलोचना गरेको २ साता नपुग्दै एमाले अध्यक्ष ओलीले पुनः असन्तुष्टि व्यक्त गरेका हुन् ।

अघिल्लो असन्तुष्टिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको भेट भएको थियो र त्यसपछि उनले खासै समस्या नरहेको बताएका थिए । तर असार १ गते संसदीय दलको बैठकमा फेरि बजेटको आलोचनामा उत्रिँदै उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई दोषी करार गरिदिए ।

उनले देशलाई गरिबीतिर जानबाट रोक्नका लागि सरकारमा गएको भन्दै सरकारका काममा सन्तोष मान्न नसकिने बताए । ‘बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक भन्नेमा अलिक छलफल गर्नुपर्ने हुन्छ । एक–दुईजनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भनेर, देश गरिबीतिर गए पनि के भयो र, हामी सरकारमा छौं भनेर हुन्छ ?,’ ओलीले शनिबार दलको बैठकमा भने, ‘हामी देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएका हौं । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’

ओली यत्तिमै रोकिएनन् । सचेत हुन सांसददेखि अन्य नेता–कार्यकर्तासम्मलाई निर्देशन समेत दिए । ‘हामीले नै चलाइरहेको मन्त्रालयको स्थिति कस्तो छ ? त्यसमा कस्तो छ विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । बाहिर बजारमा भन्दै हिँड्ने होइन,’ ओलीले भने । 

यसअघि ओलीले बजेट माओवादीतिरै ढल्किएको टिप्पणी गरेका थिए । ‘सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर बजेट आएको भए धेरै राम्रो हुन्थ्यो, छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको हो जस्तो देखिन गएको छ,’ ओलीले भनेका थिए, ‘रकमको बाँडफाँट पनि त्यस्तैगरी भएको छ । एकातिर ढल्किएको जस्तो देखिन्छ ।’

ओलीले यस्तो आरोप लगाएपछि अर्थमन्त्री वर्षमान पुनले बजेट माओवादीतिर होइन, जनतातिर ढल्किएको भनेर जवाफ फर्काएका थिए । तर ओलीको इशारा बुझेपछि एमाले पंक्ति क्रमिक रुपमा बजेट र माओवादीविरुद्ध खनिएको छ ।  सरकारमै बसेर महिलामन्त्री भगवती चौधरीले प्रधानमन्त्री पत्नी सीता दाहालका नाममा बजेट छुट्याएकामा आलोचना गरिन् । अर्थमन्त्री भइसकेका उपाध्यक्ष विष्णु पौडेलदेखि ओलीका विश्वासपात्र गोकुल बाँस्कोटा र प्रमुख सचेतक महेश बर्तौलासहितका नेताले पनि खुलेर विरोध जनाए ।

बजेट आएपछि ओलीले प्रचण्डसँग कम्तीमा ४ पटक भेटिकेका छन् । प्रचण्डसँग ओलीले के भनिरहेका छन् भन्ने विषयमा दुवै पक्षबाट फरकफरक कुरा आइरहेका छन् । प्रधानमन्त्रीले पटक–पटक भेटेर असहमति अन्त्य गर्ने भरोसा दिलाइसक्दा पनि ओलीले बजेटमाथि सन्देह व्यक्त गरिरहनुको खास तात्पर्य हुन सक्ने माओवादी पंक्तिको बुझाइ छ । 

कांग्रेससँगको गठबन्धन तोडेर एमालेको साथ लिएको माओवादीले अब एमालेको पनि साथ नपाउने हो कि भन्ने शंका गर्न थालिसकेको छ । ओलीले या त प्रचण्ड फेरि देउवातिरै फर्किने संकेत पाएका छन् र उनले यस खालका अभिव्यक्ति दिएका छन् । या त उनले देउवासँग आफै तालमेल मिलाइरहेका छन् र प्रचण्डसँगको सम्बन्धविच्छेदको पृष्ठभूमि तयार गर्दै छन् । 

अझ ओलीको बोलीसँग रास्वपाका नेताहरुको मिल्न पुग्नु अर्को अनौठो संयोग देखिन्छ । हुन त राष्ट्रिय राजनीतिमा रास्वपाको स्वतन्त्र अस्तित्व स्वीकार्नेहरु कमै छन् । एमालेको स्याटेलाइट पार्टी भनेर नै आजसम्म चिनिएको छ । बजेट र प्रचण्ड नेतृत्वको सरकारका हकमा पनि रास्वपाले एमालेकै दिमागबाट धारणा बनाउँनु कुनै अनौठो कुरा भएन । तर अनौठो त यो छ कि अहिलेको गठबन्धनमा प्रचण्डलाई भन्दा बढी आवश्यक एमाले र रास्वपाका लागि छ । तर उनीहरु नै विरोध र आलोचनामा उत्रिएपछि भित्रभित्रै कुन खालको खिचडी पाक्दै छ भन्ने जिज्ञासाको विषय बनेको छ ।