मोटरसाइकल दुर्घटनामा परि दुई सशस्त्र प्रहरी मृत्यु

सशस्त्र प्रहरी बल,नेपालमा कार्यरत दुई प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परेर सहायक हवल्दारद्वय महेन्द्र लामा र सञ्जय बलको ज्यान गएको हो ।

नुवाकोटको ककनीस्थित युएन तालिम शिक्षालयमा सेमु हतियार तालिममा तालिमरत उनीहरुको हिजो मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सशस्त्रका प्रवक्ता डिआइजी कुमार न्यौपानेले बताए । हिजो दिउँसो सवा ३ बजे मोटरसाइकलमा शिक्षालयतर्फ फकिँदै गरेका उनीहरु काठमाडौंको तारकेश्वर नगरपालिका ३, तीनपिप्लेनेर दुर्घटनामा परेका थिए ।

उनीहरु सवार मोटरसाइकल सडकबाट करिब १५ मीटर तल खसेको थियो । गम्भीर घाइते भएका उनीहरुलाई तत्काल बालाजुस्थित सिल्भर लाइन अस्पताल पुर्याइएको र उपचारका क्रममा महेन्द्रको सोही अस्पतालमा मृत्यु भएको हो ।

यता,सञ्जयलाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरेको थियो । उनको चाहिँ हिजो साँझ सवा ७ बजे मृत्यु भएको बताइएको छ । उनीहरुको पोस्टमार्टम गरेर शव परिवारलाई बुझाइएको डिआइजी न्यौपानेले जानकारी दिए ।

तालिमरत प्रशिक्षार्थीहरुलाई मोटरसाइकलको प्रयोगमा निषेध गरिएको छ । समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले प्रधान कार्यालयको निर्देशनविपरीत उनीहरुलाई मोटरसाइकल चलाउन दिएका थिए ।

उनले नियमविपरीत मोटरसाइकल चलाउन दिएकाले हिजोको घटना घटेको ककनीमा कार्यरत एक अधिकृतले बताए ।