मध्यप्रदेशको प्रसिद्ध मदिरा बनाउने कारखानामा छापा, ५८ बाल मजदुर रिहा

मध्य प्रदेशको राजधानी भोपाल नजिकैको रायसेन जिल्लामा रहेको राज्यको सबैभन्दा ठूलो मदिरा समूह सोम डिस्टिलरीजको परिसरमा छापा मारिएको छ ।

छापा मार्दा कारखानामा ५८ बाल मजदुर मदिरा बनाउँदै गरेको फेला परेका छन् । यी सबै ५८ बाल मजदुरको उद्धार गरिएको छ । यस विषयमा कारबाही गर्दै मुख्यमन्त्री मोहन यादवले चार अधिकारीलाई निलम्बन गरेका छन् ।बालअधिकार संरक्षण राष्ट्रिय आयोग (NCPCR) ले बचपन बचाओ आन्दोलन भनेर चिनिने स्वयंसेवी कार्य संघसँगको सहकार्यमा छापा मारेको हो ।

एनसीपीसीआरका अध्यक्ष प्रियंक कानुङ्गोको नेतृत्वमा गरिएको छापामारमा १९ केटी र ३९ केटा काम गरिरहेको पाइएको थियो । उद्धार गरिएका बालबालिकालाई सुरक्षित स्थानमा पठाइएको छ ।खतरनाक रसायन र मदिराको सम्पर्कमा आएका यी बालबालिकाको हात र शरीरका अन्य अंग जलेको पाइएको थियो । यी बालबालिकालाई स्कुल बसबाट डिस्टिलरीमा लगिएको थियो जहाँ उनीहरूलाई नाममात्र ज्यालामा १२-१४ घण्टा काम गराइयो।