उपप्रधानमन्त्री लामिछानेद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ, २ असार : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ ।

आज तस्बिर अवलोकनपछि प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले तस्बिरले गणतन्त्रपश्चात् पूर्वाधार विकासका क्षेत्रमा भएका उपलब्धिलाई प्रस्ट र बहुआयामिक ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । “गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन कि भन्ने प्रश्नहरू उठ्दै आएका छन् । हामीले पनि कतिपय प्रश्न उठाएका हौँ तर यो प्रदर्शनी हेरेपछि केही भएको छ भन्ने अनुभूति भएको छ”, उहाँले भन्नुभयो, “वास्तवमा यो प्रदर्शनी एकप्रकारले मेरा लागि विकास निर्माणसम्बन्धी विषयको ‘टाइम ट्राभल’ जस्तै भएको छ ।”

आधिकारिक सूचना सम्प्रेषणका लागि रासस अन्तिम विश्वासका रूपमा रहेको पनि उहाँले बताउनुभयो । “सूचना महामारीको भीडमा रासस अन्तिम विश्वास हो । यसलाई कायम राख्दै थप राम्रो गर्नुहोला”, लामिछानेले भन्नुभयो । गणतन्त्र दिवस–२०८१ को अवसर पारेर राससले जेठ १० गतेदेखि तस्बिर प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनी असार १० गतेसम्म चल्नेछ ।