हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिन राजेन्द्र लिङ्देनकाे माग

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिन माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा हाइड्रोजनको गाडी गुडाएर काठमाडौं विश्वविद्यालयले देखाइसकेको उनले बताए । ‘हामीले भविष्यमा हाम्रो ऊर्जा कहाँ खर्च गर्ने भनेर चिन्ता लिइरहेका छौं । हाम्रो ऊर्जा यहाँ खर्च गर्न सकिन्छ भनेर काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले देखाइसके’ पूर्वऊर्जामन्त्री लिङ्देनले भने, ‘त्यो हाइड्रोजन गाडीलाई नम्बर प्लेट लगाइदिने कामसमेत हाम्रो सरकारले गर्न सकेको छैन । उनीहरूले कम्पाउण्डभित्रै गाडी गुडाइरहेका छन् ।’

ईभी गाडीसरह हाइड्रोजन गाडीलाई मान्यता दिने भनेर एउटा टिप्पणी उठाएर एकै दिनमा निर्णय गर्न सकिने उनले बताए । उनले भने, ‘कर पनि त्यहीसरह लिने र नम्बर प्लेट लगाइदिने भयो भने शायद हाइड्रोजन गाडीको आयात पनि सुरु हुन्छ ।’

हाइड्रोजन गाडी महंगो हुन्छ भनेर भ्रम सिर्जना गरिएको भन्दै पूर्वऊर्जामन्त्री लिङ्देनले कसरी सस्तो बनाउन सकिन्छ भनेर छलफल सुरु गर्नुपर्ने बताए ।

उनले काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूसँग छलफल गर्न ऊर्जामन्त्रीलाई सुझावसमेत दिए । ‘हाम्रो राति खेल जाने बिजुली हाइड्रोजन उत्पादनमा दिउँ न त ३ रुपैयाँ प्रति युनिटमा’ संसारको सस्तो हाइड्रोजन नेपालमा उत्पादन गर्न सकिने भन्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘प्राधिकरणलाई हाइड्रोजन स्टेसनहरू पाइलट प्रोजेक्टका रूपमा स्थापना गर्न लगाउनुस् ।’

बजेटले जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राख्न नसकेको उनको गुनासो छ । बूढीगण्डकी जलविद्युत् आयोजनाबारे अघिल्ला वर्षहरूको भन्दा अवस्था फरक नभएको र तमोरको विषय बजेटमा उल्लेख नै नभएको लिङ्देनले बताए ।