पर्यटक बोकेको टेम्पो सडकबाट नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु

काठमाडौं । भातरको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार पर्यटकहरु चोप्ता जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको अस्पतालमा मृत्यु भएको हो ।अधिकारीहरुका अनुसार सडकबाट चिप्लिएको टेम्पो करिब दुई मिटर खोलामा खसेको थियो । मृतकमध्ये अझै तीन जनाको सनाखत हुनै बाँकी छ ।

मृत्यु हुनेमा नोएडा, मथुरा, उत्तर प्रदेशको झाँसी, उत्तराखण्डको हल्द्वानी, मध्य प्रदेश, दिल्ली र हरियाणाका बासिन्दाहरु छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले अस्पतालमा पुगेर घाइतेहरुको उपचारबारे बुझेका छन् भने स्वास्थ्यलाभको कामना समेत गरेका छन् । उनले घाइतेको उपचारमा कुनै कसुर नराख्न समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । दुर्घटनाबारे राष्ट्रपति द्रौपदी मुर्मुले समेत दुःख व्यक्त गरेकी छन् । उत्तराखण्डमा सडक दुर्घटनाका कारण वर्षेनि हजारौँको ज्यान जाने गरेको छ । सन् २०२२ मा मात्रै एक हजार ६ हजार ७४ दुर्घटनामा १ हजार ४२ जनाको ज्यान गएको थियो ।