प्रतिनिधिसभामा आज पनि बजेटमाथि छलफल जारी रहने

काठमाण्डु-प्रतिनिधिसभाको बैठक आइतबार पनि बस्दैछ । बैठक आइतबार बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्नेछ ।

बैठकमा मन्त्रालगायतका बजेटमाथि छलफल जारी रहने छ । जसअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसैगरि सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।