मनाइयो जयतु संस्कृतम् दिवस

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज स्तम्भमा माल्यार्पण, पदयात्रा र प्रवचन गरी मनाइएको छ । यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्वशान्तिको सङ्कल्पले स्वस्तिवाचन गरिएको थियो । 

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ । जयतु संस्कृतम् दिवसका अवसरमा आज गरिएको कार्यक्रममा यस क्षेत्रका विज्ञले संस्कृत भाषाको महत्व बढ्दै गएको बताए ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरू भएको आन्दोलनपछि जहानियाँ राणा शासनविरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चारपाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि तिनले जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैँलाएका थिए ।  

देशका विभिन्न भाग हुँदै विद्यार्थीहरु भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरू पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरू गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरूप दिई विधिवत् दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागत रूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो ।