ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । 

पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेका  छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले उनीहरू दुवैको दुर्घटनामा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परि ज्यान गुमाएका परिवार र आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग केहिबेर चक्काजाम गरेका थिए ।

मृत्यु भएका दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रमेश पण्डितले जानकारी दिए ।