पर्यटमन्त्री बन्दै रञ्जिता, सिकेलाई परराष्ट्रमन्त्रीको अफर

काठमाडौं। जसपा फुटेपछि उपेन्द्र यादवले सरकार छाड्न पर्यो। अशोक राई समूहले सरकारलाई समर्थन गरेपछि यादवले उपप्रधान एवं स्वास्थ्यमन्त्रीबाट राजीनामा दिए। लगत्तै  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुपर्यो। प्रचण्डलाई यादव नेतृत्वको जसपाले विश्वासको मत दिएन।

तर, उनको कुर्सी जोगाउन नागरिक उन्मुक्ति पार्टी आइपुग्यो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सांसदलाई विश्वासको मत दिन लगाएपछि स्पष्ट बहुमत पुगेको थियो।
तिनै श्रेष्ठ मन्त्री बन्ने तयारीमा छिन्। यसअघि प्रचण्ड मन्त्रिपरिषद्मै भूमिमन्त्री बनेकी रञ्जिता गठबन्धन हेरफेर हुँदा बाहिरिएकी थिइन्। उनका पति रेशम चौधरी अहिलेको गठबन्धनको विपक्षमा रहे पनि रञ्जिता भने मन्त्री खान तयार छिन्, त्यही भएर सुदूरपश्चिममा मुख्यमन्त्री लिन सकिने अवस्था भएपनि उनले गठबन्धनलाई सघाइन्। र,अहिले पर्यटनमन्त्रीको दाउमा छिन्।

प्रचण्डले मन्त्रिपरिषद् हरेफेर गर्ने तयारी गरेका छन्। उनले नागरिक उन्मुक्ति र जनमतलाई पनिसरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेरको तयारी गरेका हुन्।
एमाले, माओवादी गठबन्धनले मधेशमा जनमतलाई मुख्यमन्त्री दिएको थियो। त्यही भएर जनमत पनि केन्द्र सरकारमा सहभागी हुने तयारीमा छन्।
 
प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने छन्। हाल संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री माओवादीका हितबहादुर तामाङ छन् । बालुवाटार स्रोतका अुनसार रञ्जितालाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि हितबहादुरलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि विना विभागीय मन्त्री बनाउने तयारी छ । 

श्रेष्ठलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएपछि प्रचण्डले तामाङलाई तत्कालका लागि प्रधानमन्त्री कार्यालयमा रहने गरी विनाविभागीय मन्त्री बनाउने तयारीसमेत गरेको स्रोतको भनाइ छ। कैलाली(१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले पनि आफू मन्त्री बन्न लागेको स्वीकार गरेकी छन्। 

प्रचण्डले जनमतका अध्यक्ष सिके राउतलाई पनि मन्त्री पद अफर गरेका छन्। यसअघि जनमत दुई पटक केन्द्र सरकारमा सहभागी हुँदा पनि राउत मन्त्री बनेका थिएनन्। अहिले प्रचण्डले राउनलाई नै सरकारमा आउन अफर गरेका हुन्। संघमा जनमतका ६ सांसद छन्।

यो विषयमा प्रचण्ड र  राउतबीच छलफल पनि भएको छ। शनिबार प्रदेशको बजेट आइसकेकाले अब यस विषयमा जनमतले निर्णय गर्नेछ। प्रचण्डले मन्त्रालयबारे केही बोलेका छैनन्। तर, परराष्ट्रमन्त्रालय अफर गरिएको छ। जनमत भने यसअघिबाट नै उद्योग, कृषि, शिक्षा र स्वास्थ्य मन्त्रालय आफ्नो रोजाइ भन्दै आएको थियो । यदी सिके सरकारमा आउन चाहेमा उद्योग मन्त्रालय पनि दिनुपर्ने हुनसक्छ। उद्योग मन्त्रालय एमालेका दामोदर भण्डारीले सम्हालिरहेका छन्।

प्रचण्डले जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन माओवादी र एमालेबाट एक–एक जना मन्त्री फिर्ता बोलाउने तयारी गरेका छन।

यो विषयमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन्। बिहीबार संसद भवनबाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री फेर्ने विषय प्रधानमन्त्रीलाई नै सोध्नुपर्ने जवाफ फर्काएका थिए।