एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी

काठमाडौँ, १ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ ।पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन । 

एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभयो । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ ।”    

अध्यक्ष डा सुब्बाका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उहाँले बताउनुभयो ।