गर्मीमा महीको व्यापार

चर्को गर्मीसँगै यहाँका दुई सहकारी संस्थाले दुधबाट मही उत्पादन गरेर बजारीकरण गरिरहेका छन् । अन्नपूर्ण र गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो नयाँ उत्पादनका रुपमा महीलाई बजारमा ल्याएका हुन् ।

परीक्षण स्वरुप अहिले दुवै सहकारीले दैनिक एक–एक हजार बोटल मही उत्पादन गरेर बजारमा बिक्री गर्न थालेका छन् । अन्नपूर्ण सहकारी संस्थाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी मही उत्पादन गरी बजारमा ल्याएको संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक आधा लिटर र एक लिटरका बोटलमा उत्पादन हुँदै आएको छ ।

पछिल्लो समय मानिसले पिउने कोकाकोलालगायत पेयपदार्थको सट्टा मानव शरीर स्वास्थ्यलाई लाभ उपयुक्त हुनाका साथै कम खर्चिलो हुने भएकाले यसको बजारीकरण गर्न थालिएको तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “महीको प्रवर्द्धन गर्न सके अन्य पेयपदार्थको सेवन घटाउन सकिन्छ । महीको उत्पादन र बजारीकरण हुँदा किसान पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।” 

अहिले आधा लिटरलाई रु ३० र एक लिटरलाई रु ५० मा बिक्री गरिँदै आइएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । “कम मूल्य निर्धारण गरेर भए पनि महीको ‘ब्राण्ड’ बनाउन खोजेका छौँ”, उहाँले भन्नुभयो, “बजारको व्यवस्थापन हुन सके यसको व्यवसाय राम्रोसँग हुने र किसान पनि लाभान्वित हुने आशा गरेका छौँ ।”

भरतपुर महानगरपालिका–१३ मा रहेको गङ्गानगर दुग्ध उत्पादक संस्थाले पनि मही उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । दैनिक एक हजार बोटल र ८० लिटर खुला मही बिक्री गर्ने गरिएको अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो सुरुवाती काम हो । अहिले परीक्षणको रुपमा बजारमा पठाएका छौँ । यसको प्रतिक्रिया सकारात्मक आए ब्राण्ड बनाउने योजनामा छौँ ।” 

प्रतिलिटर एक रुपैयाँँ ५० पैसा नोक्सानी बेहोरेर पनि मही बजारमा पठाएको अध्यक्ष समपकोटाले बताउनुभयो । स्वास्थ्यका लागि फाइदा दिने मही किनेर खानेबानी बसाल्नका लागि घाटा हुँदाहुँदै पनि बजारमा पठाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अन्य पेयपदार्थभन्दा मही फाइदाजनक छ भन्ने देखाउन पहल थालेका छौँ ।”

चितवनसहित अन्य जिल्लाले पनि महीको व्यवसाय सुरु गर्न थालेका जनाउँदै सापकोटाले यसलाई राष्ट्रिय मान्यता दिएर बजारीकरण गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीले बजारमा स्थानीय उत्पदनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मही पठाएका छौँ । यसलाई राज्यले बजारीकरणमा सहयोग गरेर सकारात्मक पहल गर्नुपर्ने आवश्यकता छ ।” राज्यले दूधमा तोकेको मापदण्डअनुसार नै मही उत्पादन गर्दै आएको उहाँको भनाइ छ ।

चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले महीको बजारीकरणमा स्थानीय सरकारले सहजीकरण गरेर किसान तथा व्यापारीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी समयमा अन्य पेयपदार्थ भन्दा यो उत्तम हुन्छ र सस्तो पनि पर्छ । यसलाई राज्यले सहयोग गर्न सके किसान, व्यावसायीका साथै जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्नेछ ।” 

अहिले उत्पादन गर्दै आएका संस्थालाई राज्यका तर्फबाट सहयोग हुनसके स्थानीय उत्पादनले बजार पाउने सङ्घका अध्यक्ष बगालेको भनाइ छ । अहिले यहाँका उत्पादनले आफँै बजार खोज्नुपर्ने समस्या राज्यले हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यहाँ उत्पादित मही अहिले चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), गोरखा र लमजुङ जाने गरेको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगर क्षेत्रभित्रका डेरी उद्योग र दुग्ध उत्पादक किसानलाई महानगरले सहयोग गर्दै आएको छ । यहाँका किसानले दुधमा प्रतिलिटर रु तीन  अनुदान पाउँदै आएका छन् भने डेरी उद्योगलाई महानगरले साझेदारीमा अनुदान सहयोग गर्दै आएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।