सत्ता केन्द्रीत राजनीतिले अस्थितरता बढायोे : नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता केन्द्रीत राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उहाँले पछिल्लो समय सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनिति गम्भीर मोडमा पुगेको बताउनुभयो । नेता डा कोइरालाले सत्ताकै लागि मुलुकमा अस्थिरता उत्पन्न गराइरहने प्रवृत्तिबाट सबै पार्टीले बाहिर आउन जरूरी रहेकामा जोड दिनुभयो । “राजनीतिक स्थिरताविना सुशासन र सुशासनविना आर्थिक विकासले गति लिन सक्दैन तर देशमा पटकपटक सरकार बदल्ने र अस्थिरता मच्चाइरहने अवस्था देखियो । यस्तो अवस्थामा जस्तो र जतिसुकै बजेट ल्याइए पनि आर्थिक विकास तथा समृद्धि हासिल गर्न सकिँदैन”, डा कोइरालाको भनाइ थियो । 

अब सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएकामा जोड दिँदै नेता डा कोइरालाले त्यसका लागि निर्वाचन प्रणालीमा सुधार गर्न छलफल अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । 

यसैगरी उहाँले अस्थिर राजनीतिका कारण विकासले गति नपाउने मात्र नभइ राजनीतिमा अपराधीकरणले प्रश्रय पाइरहेकाले राज्यका निकायले समेत आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । “हामीले देखिरहेका छौँ सहकारी मात्रै होइन, धेरै ठाउँहरुमा अनावश्यक हिसाबले अख्तियारको दुरुपयोग भइरहेको छ । कानुनअनुसार काम गर्ने दायित्व भएका निर्वाचन आयोग, सिआइबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकाय पनि चुकिरहेका छन् । यी सबैको जड भनेकै अस्थिरता र राजनीतिमा अपराधीकरण हो” उहाँले भन्नुभयो । 

सोही कार्यक्रममा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलाई डा कोइरालाले स्वागत गर्नुभएको थियो ।