वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने

 वेल्सकी राजकुमारी क्याथरिनले शनिबार मध्य लन्डनमा आयोजना हुने ट्रूपिङ द कलर सैन्य परेडमा भाग लिने घोषणा गर्नुभएको छ । क्यान्सर भएको पत्ता लागेपछि उहाँको यो पहिलो सार्वजनिक जीवनमा अस्थायी पुनरागमन हुनेछ ।  

गत वर्ष डिसेम्बरमा क्रिसमस डेको दिन केटले सार्वजनिक संलग्नतामा देखाउनु भएको थियो  र मार्चमा केमोथेरापी गरिरहेको खुलासा गर्नुभएको हो । 

बयालीस वर्षीया राजकुमारी विश्वको सबैभन्दा धेरै फोटो खिचिएकी महिलामध्ये एक हुनुहुन्छ । केटको लामो अनुपस्थितिले विशेषतः अनलाईन माध्यमहरुलाई उहाँको स्वास्थ्य अवस्थाबारे कौतुहलता बढाएको थियो ।  

उहाँले शुक्रबार साँझ एक सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका राम्रो सुधार भइरहेको र अझै केही समय लाग्ने जानकारी गराउनुभएको छ । “म यस सप्ताहन्तमा मेरो परिवारसँग राजाको जन्मदिन परेडमा भाग लिन उत्सुक छु र केही सार्वजनिक कार्यक्रमहरूमा सामेल हुने आशा गर्दछु, तर मेरो स्वास्थ्यमा पूर्ण सुधार भईसकेको छैन“, राजकुमारीले बताउनुभयो । 

वेस्ट ब्याङ्क बढ्दो स्वास्थ्य सङ्कटमा रहेको डब्ल्यूएचओको चेतावनी

जेनेभा, १ असार (रासस÷एएफपी) ः विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले शुक्रबार कब्जामा रहेको वेस्ट ब्याङ्कमा बढ्दो स्वास्थ्य सङ्कटको घोषणा गरेको छ । बढ्दो प्रतिबन्ध, हिंसा र स्वास्थ्य पूर्वाधारमा आक्रमणले वेस्ट ब्याङ्कको स्वास्थ्य पहुँचमा बाधा पुरÞ्याइरहेको स्वास्थ्य सङ्गठनले बताएको छ ।

संयुक्त राष्ट्र स्वास्थ्य सङ्गठनले एक विज्ञप्तिमार्फत “वेस्ट ब्याङ्कमा नागरिकहरूको तत्काल र सक्रिय सुरक्षा र स्वास्थ्य सेवाका लागि“ आह्वान गरिरहेको छ । 

अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएदेखि पूर्वी जेरुसेलमसहित वेस्ट ब्याङ्कमा जुन १०  सम्ममा एक सय २६ बालबालिका सहित ५२१ प्यालेस्टिनीको मृत्यु भएको उल्लेख गरिएको छ। 

प्यालेस्टिनी अधिकारीहरूले गाजा युद्ध सुरु भएदेखि कम्तिमा ५४५ प्यालेस्टिनीहरू इजरायली सेनाद्वारा मारिएको भन्दै वेस्ट ब्याङ्कको मृत्युको सङ्ख्या अझ बढी जनाएका छन् ।

मृत्युको अतिरिक्त ८०० बालबालिका सहित ५,२००  भन्दा बढी व्यक्तिहरू घाइते भएको बताउदै  डब्ल्यूएचओले “पहिले नै तनावग्रस्त स्वास्थ्य सुविधाहरूमा आघात र आपतकालीन स्वास्थ्य पहुँच“ मा जोड दिएको छ। 

सन् १९६७ देखि इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कले एक वर्षभन्दा बढी समयदेखि हिंसा खेपिरहको छ ।  

डब्ल्यूएचओले शुक्रबार वेस्ट ब्याङ्कमा स्वास्थ्य सेवामा आक्रमण थप बढीरहेको बताएको छ। 

अक्टोबर ७ देखि मे २८ का बिचमा वेस्ट ब्याङ्कमा स्वास्थ्य सुविधा, एम्बुलेन्स, स्वास्थ्यकर्मी र बिरामीलाई हिरासतमा लिएर ४८० वटा आक्रमण भएको डब्ल्यूएचओले तयार पारेको दस्तावेजले जनाएको छ ।

एकै समयमा, चेकपोइन्ट बन्द, बढ्दो असुरक्षा, र सम्पूर्ण समुदायहरूको घेराबन्दीका कारण वेस्ट ब्याङ्कको स्वास्थ्य पहुँचलाई अझ गाह्रो बनाएको थियो। अक्टोबर ७ देखी पूर्वी जेरुसेलम र इजरायल जान प्रतिबन्ध लगाएसँगै वेस्ट ब्याङ्कका नागरिकहरुको स्वास्थ्य सुविधामा गम्भिर असर परेको छ ।