मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण  सुस्त, स्थानीयवासी चिन्तित

हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरु उच्च जोखिममा पर्ने भएकाले उहाँ सहित स्थानीयवासी अहिले चिन्तत छन् । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको आज तीन वर्ष पूरा भएको छ । असार १ र यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो भने हजारौँ नागरिक विस्थापित भएका थिए ।
 
बाढीले क्षति पु¥याएको तीन वर्ष बिते पनि धेरै प्रभावित अस्थायी टहरामै बसिरहेका छन् । उनीहरु सुरक्षित बसोबासको पर्खाइमा छन् । मेलम्ची बाढी प्रभावित मेलम्चीका सन्तोषी श्रेष्ठ यो वर्ष धेरै पानी पर्ने भनिएकाले आनन्दले बस्न नपाउने भएको दुखेसो गर्नुहुन्छ ।
 
त्यस्तै मेलम्ची–११ का रमेश श्रेष्ठ बल्लबल्ल गाउँमा घर बनाए पनि सरकारले दिने भनेको अनुदान रकम प्राप्त नभएको गुनासो गर्नुहुन्छ । तीन वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाँच्नै गाह्रो भएको बाढी पीडितको भनाइ छ । बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन् ।
 
नदी तटीय क्षेत्रका बासिन्दाको कथाव्यथा पनि उस्तै छ । नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्चीका दशरथ दनुवारले गुनासो गर्नुभयो । बाढीका कारण हेलम्बु गाउँपालिकामा  तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म सय जनाले मात्र पहिलो किस्ता पाएका छन् । त्यस्तै १५ जनाले जग्गा खरिद गरेका छन् । मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ४४ लाभग्राहीमध्ये दुई सय ३२ जनाले पहिलो, ७० जनाले दोस्रो र आठ जनाले मात्र अन्तिम किस्ता पाएका छन् ।
 
यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ८४ जना लाभग्राही छन भने ९२ जनाले खरिद जग्गा गरेका पालिकाले जनाएको छ । सरकारले जग्गा नभएकालाई खरिद गर्न बढीमा तीन लाख र घर बनाउन पाँच लाख तथा  अस्थायी आवास बनाउन ५० हजार  दिने बताएको छ ।
 
पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले विस्थापित स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तहले काम गरे पनि प्रदेश र सङ्घीय सरकारले त्यति चासो नदिएको बताउनुभयो । उहाँले  भन्नुभयो, “कार्यविधि परिवर्तनले समस्या भएको तथा समयमै प्रदेश र सङ्घीय  सरकारले रकम  पनि विनियोजन गरको छैन । ”
 
नदी नियन्त्रण र व्यवस्थापनका लागि स्थानीय तहको मात्रै प्रयासले नसकिने बाढी प्रभावित मेलम्ची नगर प्रमुख आइतमान तामाङको दाबी छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सङ्घीय   र प्रदेश सरकारले हेलम्बु मेलम्ची बाढीलाई प्रभावितलाई पुनस्थापनामा खासै ध्यान नदिएको गुनसो गर्दै स्थानिय तहले आफ्नो कर्तव्य पूरा गरिरहेको बताउनुभयो ।
 
प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद् पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनी जनधनको क्षति हुने गरेको छ । विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियोे । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २५ जनाको अकालमा मृत्यु भएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए ।