बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल

ढोरपाटन (बागलुङ), १ असार: बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । 

    झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुङ्गे पुल निर्माण भएका हुन् । 

    पूर्वधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई र अघिल्लो वर्ष चार गरी छ पुल निर्माण भएका छन् । 

    गलकोट नगरपालिकामा अघिल्लो र यस वर्ष एक÷एक गरी दुई पुल बनेका छन् । ढोरपाटन नगरपालिकामा अघिल्लो वर्ष चार र यस वर्ष दुई गरी छ पुल निर्माण भएको उहाँको भनाइ छ । जैमिनी नगरपालिकामा अघिल्लो वर्ष तीन र यस वर्ष दुई गरी पाँच झोलुङ्गे पुल बनेको इञ्जिनियर चापागाईंले बताउनुभयो ।

    चापागाईंका अनुसार निसीखोला गाउँपालिकामा अघिल्लो वर्ष पाँच र यस वर्ष चार गरी नौ वटा पुल बनेका छन् । तमानखोला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा दुई र चालु वर्षमा एक गरी तीन वटा पुल बनेको उहाँले जानकारी दिनुभयो । 

    बडिगाड गाउँपालिकामा गत वर्ष एक र यस वर्ष यस वर्ष चार गरी पाँच वटा पुल बनेको इञ्जिनियर चापागाईं बताउनुहुन्छ । ताराखोला गाउँपालिकामा गत वर्ष तीन वटा पुल बनेका थिए । काठेखोला गाउँपालिकामा अघिल्लो वर्ष दुई र यस वर्ष दुई गरी चार वटा पुल बनेको चापागाईंले बताउनुभयो ।

    पुल निर्माण भएपछि खोला वारपारमा निकै भहज भएको ढोरपाटन नगरपालिका–९ का बलबहादुर घर्तीमगरले बताउनुभयो । उत्तरगङ्गा नदीमा सीमित ठाउँमा मात्रै पुल हुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा अहिले ठाउँठाउँमा पुल बनेपछि समस्या समाधान भएको उहाँको भनाइ छ । बर्खाको समयमा उत्तरगङ्गा नदीले बर्सेनि दुई÷तीन जना बगाउने गरेको भन्दै अब कोही पनि बगेर मृत्युवरण गर्नु नपर्ने घर्तीमगर बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “हिउँदका समयमा बस्तुभाउ वारिपारी खोलाबाटै गराइन्थ्यो, मान्छे पनि खोला तरेरै वारपार गर्थे, बर्खा लाग्थ्यो बने खोला बढेर माथिमाथि आउँछ, तर्न त के छेउमा जान पनि सकिँदैन, पुल नहुँदा यहाँका धेरै नागरिकले दुःख पाए, अहिले त पुल बनेको छ, केही सुविस्ता होला भन्ने आशा गरेका छौँ, केटाकेटीहरु पनि सजिलै वारपार गर्नेछन् ।”