विपद् व्यवस्थापनको तयारीका लागि थोराङ्ला भञ्ज्याङको अनुगमन

काठमाडाै, १ असारः मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ । मनसुन भित्रिएसँगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको तयारी सुरु गरिएको हो ।

    विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार हजार नौ सय १६ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पदमार्ग र थोराङ्ला भञ्ज्याङ पार गर्ने अन्नपूर्ण पदमार्गको अनुगमन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । पदमार्गमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणको तयारीका लागि अनुगमन गरी सम्बन्धित निकायसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार खाङ्सार, याकखर्क, लेदर, हाइक्याम, बेसक्यामलगायतका पर्यटक बढी बसोबास गर्ने क्षेत्रका पर्यटन व्यवसायीलाई सचेत गराइएको छ । 
    
    अनुगमनका क्रममा मुस्ताङ खण्डमा सचेतना तथा सूचना पार्टी राख्ने विषयमा  सुरक्षा निकायसँग छलफल भएको छ । उद्धारका लागि जिल्लाभरका लागि उपकरण अद्यावधिक गरी तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।  आवश्यक उपकरण राख्न र कर्मचारीलाई कार्य प्रतिकारका लागि तयार रहन र बाहिर जिल्ला जाँदा विपद् व्यवस्थापन समितिलाई जानकारी गराउन आग्रह गरिएको जनाइएको छ । पालिकास्तरमा विपद् सहायता कक्ष स्थापना, स्थानीय प्रतिकार टोली, रेडक्रसलगायतका सुरक्षा टोलीलाई तयार पारिएको छ । 
    
    तालिम प्राप्त कोर टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रजिअ लामिछानेले बताउनुभयो । मनसुनको सुरुआत भएसँगै विपद् व्यवस्थापन समितिले जीर्ण भएका साइनिङ पोलको जडान तथा बाटो देखाउन राखिएका चिन्हको अवस्थाको तथ्याङ्क सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साइनिङ पोल र चिन्ह सङ्कलन भइरहेको छ, एक्यापलाई चिन्ह र पोल राख्नुपर्ने स्थानबारे जानकारी गराएका छौँ ।”

    ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जिल्ला विपद् व्यवस्थापन समितिले सुझाव दिएअनुरुप नै तयारी गरिएको बताउनुभयो । पालिका तथा वडास्तरकै विपद् सहायता कक्ष खडा गरिएको उहाँको भनाइ छ । जिल्लाको बढी जोखिमयुक्त चामे र नासों गाउँपालिकामा सहायता कक्ष स्थापना र विपद् सचेतनाका कार्यक्रम भइरहेको बताइएको छ ।