देशका सात वटै प्रदेशले आज बजेट ल्याउँदै

काठमाडौं । देशका सात वटै प्रदेश सरकारहरुले आज आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट ल्याउँदैछन् ।

हरेक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार प्रदेश सरकारहरूले  प्रदेश सभामा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान प्रस्तुत गर्ने भएका हुन् । सातै वटा प्रदेशले बजेट लेखन सकिएको र अन्तिम रूप दिएर मन्त्रिपरिषदबाट पास गराई प्रदेश सभामा प्रस्तुत गर्ने जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा ५९ मा संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने उल्लेख छ । 

उपधारा ३ ले प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने समय संघीय कानुनबमोजिम हुने व्यवस्था गरेको छ । संविधानको यही व्यवस्थाअनुसार अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहले बजेट ल्याउने समय तोकिएको छ ।

अधिकांश प्रदेशले संघीय सरकारले झैँ कृषि, आन्तरिक उत्पादन, पूर्वाधार र स्थानीय विकासलाई प्राथमिकतामा राखेर बजेटको तयारी गरेको जानकारी गराएका छन् ।