टी २० विश्वकप : शनिबार नेपालले पहिले पल्ट दक्षिण अफ्रिकाको सामना गर्दै

आईसीसी विश्वकप टी २० मा शनिबार नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । सेन्ट भिन्सेन्टको किङ्ग्सटाउनमा नेपाली समयअनुसार शनिबार बिहान सवा ५ बजेबाट नेपालको खेल शुरु हुनेछ ।

भोलि हुने खेलमा लेगस्पिनर सन्दीप लामिछाने पनि सहभागी हुने भएसँगै नेपाली टोलीको हौसला थपिएको छ । यद्यपि पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएको बलियो टोली दक्षिण अफ्रिकालाई हराउनु नेपालका लागि पक्कै कठिन हुनेछ ।

आईसीसीको अन्तर्राष्ट्रिय टी २० वरियतामा दक्षिण पाचौँ स्थानमा रहेको छ भने नेपाल १८ औँ स्थानमा छ । एडेन मक्रमको कप्तान रहेको दक्षिण अफ्रिकी टिममा ओट्टेनिल बार्टमान, जेराल्ड कोट्जे, क्विन्टन डीकक, ब्य्रोन फोर्टुन, रिजा हेण्ड्रिक्स, मार्को जान्सेन, हेन्रिख क्लासन, केशव महाराज रहेका छन् । त्यसैगरी, डेभिड मिलर, एनरिख नोक्र्या, कागिसो रबाडा, ताब्रेज शाम्शी, त्रिस्तान स्टब्स र रायन रिकेल्टन पनि दक्षिण अफ्रिकी टोलीमा छन् ।

यता रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सन्दीप जोरा, अनिलकुमार साह, आशिफ शेख, गुल्शन झा र कुशल मल्ल पनि छन् । त्यसैगरी, कमलसिंह ऐरी, अबिनाश बोहोरा, करण केसी, सागर ढकाल र ललित राजवंशी पनि नेपाली टोलीमा छन् ।

नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म दक्षिण अफ्रिकाको सामना गरेको छैन । यद्यपि यू १९ विश्वकपमा नेपालले दुई पटक दक्षिण अफ्रिकालाई पराजित गरेको छ । नेपालले २००४ मा बंगलादेशमा र २००६ मा श्रीलंकामा आयोजित यू १९ विश्वकपमा दक्षिण अफ्रिकालाई दुई पटक पराजित गरेको थियो । २००४ को यू १९ विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई एक विकेटले र सन् २००६ को यू १९ विश्वकपमा दुई रनले पराजित गरेको थियो ।

समूह डीको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका यसअघि नै सुपर ८ मा प्रवेश गरिसकेको छ । दक्षिण अफ्रिकाले तीन खेलमा शत प्रतिशत नतिजा निकाल्दै सुपर ८ मा पुगेको हो । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्स, बंगलादेश र श्रीलंकालाई पराजित गरेको थियो । नेपाल भने समूहको चौथो स्थानमा रहेको छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजयको सामना गरेको थियो भने वर्षाका कारण खेल रद्द भएकाले श्रीलंकासँग अंक बाँडेको थियो । नेपालले सुपर ८ मा प्रवेश गर्नका लागि शनिबारको खेल जसरी पनि जित्नैपर्ने दबाबमा हुनेछ ।