लक्षित वर्गको निःशुल्क उपचार गरेको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाै। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गको निःशुल्क उपचार गरेको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । विपन्न, असहाय, बेवारिसे बिरामीलाई निःशुल्क उपचार गरेको विवरण सार्वजनिक गर्न मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो । 

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने लक्षित वर्गका लागि कुल १० प्रतिशत शैया छुट्याएर अनिवार्य निःशुल्क उपचार गराउनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै मन्त्रालयले सो व्यवस्था अनिवार्य लागू गर्न पनि भनेको छ । 

मन्त्रालयले सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई यसबारे परिपत्र गर्दै निःशुल्क सेवा लिएका बिरामीहरुको अभिलेख व्यवस्थित राख्न सुसूचित गराएको छ । त्यस्तै, सो विवरण सार्वजनिक रुपमा देखिने गरी जानकारी दिने, टाँस्ने तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने व्यवस्था मिलाउन निर्देश गरिएको छ । 

भनिएको छ,‘उक्त व्यवस्थाअनुरुप सेवा लिएका बिरामीहरुको अभिलेख व्यवस्थित रुपमा राख्ने तथा सोको विवरण सार्वजनिक रुपमा देखिने गरी जानकारी दिने, टाँस्ने तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने व्यवस्थासहित सोही मापदण्डको दफा ७० (ञ) र (ट) लाई पालना गर्नुहुन यस मन्त्रालयको निर्णयानुसार अनुरोध छ ।’