प्रचण्ड शैलीमा एक्लै नेता बन्न हिँडेका उपेन्द्र

यथार्थमा भन्दा उपेन्द्र यादव नै मधेसका खास नेता हुन् । मधेस आन्दोलनका बलमा उनले बेग्लै क्षेत्रीय शक्तिको स्थान राष्ट्रिय राजनीतिमा बनाए । मधेसले पनि काठमाडौँसँग शक्तिको बार्गेनिङ गर्न सक्छ भन्ने स्थापित गरे । संविधानमा संघीयता लेखाए । 

तर उपेन्द्रको बयान यतिमै सकिँदैन । सत्तालोलुपताको पराकाष्ठा पनि उनले नै देखाए । पार्टीमा सर्वसत्तावादको प्रयोग अन्य दलका कुनै नेतामा भन्दा कम गरेनन् । बाबुराम भट्टराईदेखि महन्थ ठाकुर, विजय गच्छदार र अशोक राईसम्मका उच्च कदका नेतालाई भित्र्याएर पनि उनले पार्टी चलाए । तैपनि उनले आफूबाहेक अर्कोलाई नेतृत्वतर्फ चियाउन दिएनन् । जसले नेतृत्वको लोभ गर्‍यो, उसलाई टिक्नै नसक्ने अवस्थामा पुर्‍याए । वास्तवमा यो राजनीतिको प्रचण्ड सूत्र हो । अलि पहिला यो सूत्र कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले प्रयोग गरेका थिए ।

कोइराला अस्ताएपछि कांग्रेसमा केही हदसम्म नेताविशेषको कम, अनि पार्टीको संस्थागत प्रणालीको बढी प्रभाव देखिँदै गएको छ । नभए हालैको महासमिति बैठकमा गगन थापा र विश्वप्रकाश शर्माको नीतिमा आधारित दस्तावेज पेस र पारित हुने थिएनन् । अझ भन्दा प्रचण्डसँगको समीकरण उल्टिने नै थिएन । किनभने देउवा र प्रचण्डको कुरो मिलिरहेकै थियो । गगनहरुले कुरा बिगारे र सत्ता समीकरण उल्टियो । देउवाका सहयोगीहरु सरकारबाट सडकमा आए । देउवाको मुखैमा आएको प्रधानमन्त्रीको पद पनि अनिश्चित भयो ।

उपेन्द्र र प्रचण्डबीच लामो समय सहकार्य चल्यो । उनीहरु फरक पार्टीमा भए पनि प्रायः राजनीतिक लाइन मिल्थ्यो । खासमा प्रचण्डको छाया पार्टीजस्तै थियो जसपा नेपाल । पछिल्लो समय जब उपेन्द्रले प्रधानमन्त्रीको आकांक्षा दर्शाए, अनि प्रचण्डको वक्रदृष्टिमा परे । उनकै पार्टी फुटाइदिए । सरकारबाट गिराइदिए । केन्द्रदेखि प्रदेशसम्मै जसपा सरकारविहीन बन्न पुग्यो ।

उपेन्द्रले प्रचण्डबाट धोका खाए पनि प्रचण्डको पार्टी चलाउने शैलीको अनुसरण भने मजैले गरेको देखिन्छ । माओवादी पार्टी स्थापनाकालदेखि प्रचण्ड जसरी नेतृत्वमा अटल छन्, उपेन्द्र पनि त्यही रूपमा रहिरहने अभ्यासमा खरो उत्रिँदै आएका छन् ।

हालैको जसपा नेपालको महाधिवेशनलाई हेरौँ ।      

जनता समाजवादी पार्टी (जसपा) नेपाल जेठ २८ गते महाधिवेशनमा होमिएको थियो । जनकपुरधाममा भएको महाधिवेशनको तेस्रो दिन जेठ ३० बुधबार अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतरूपमा पुनः अध्यक्ष चुनिए । महाधिवेशनको खास उपयोगिता त्यहीँ सकियो । त्यसपछि बाँकी पदाधिकारीमा निर्वाचन हुने भनियो निर्वाचनको सबै तयारी गरियो । जब मतदान गर्ने बेला भयो, जेठ ३१ गते बिहीबार मध्यान्हतिर ११ सय ३५ जना महाधिवेशन प्रतिनिधिका माझ उनले घोषणा गरे, ‘चुनाव गरेर एकता महाधिवेशनको सन्देश दिन सक्दैनौँ । त्यसैले महाधिवेशन यहीँ रोकौँ । बाँकी पदाधिकारी पनि सर्वसम्मत चयन गरौँ ।’

अब उपेन्द्र आफूले चाहेका नेतालाई छानीछानी पदको पजनी गर्नेछन् । आफूले तत्काल नचाहेका र भविष्यमा चुनौती बन्न सक्ने नेतालाई किनारा लगाउँदै जानेछन् । यो नै राजनीतिको प्रचण्ड शैली हो, जसको खास र एक मात्र लक्ष्य पार्टी जति कमजोर भए पनि नेतृत्वमा अनवरत रहिरहनु हो । यसपालि पनि उपेन्द्र यस उद्देश्यमा सफल भएका छन् । प्रधानमन्त्री पद पाउनै लाग्दा पार्टी फुटेकोमा दुःखी भएका उपेन्द्रले पक्कै पनि महाधिवेशनबाट आफू सर्वसम्मत भएको, महाधिवेशन बीचैमा स्थगित गर्न सफल भएको र महाधिवेशनको सम्पूर्ण शक्ति हातमा लिएर आफै सर्वशक्तिमान बन्न सफल भएकोमा चौगुना खुसी मनाइरहेका होलान् । 

उनको आगामी कार्यकाल पनि सफल रहोस् । शुभकामना ।