माधव नेपाल र झलनाथ खनाल आमनेसामुने, को बन्ला एकीकृत समाजवादीको अध्यक्ष

एकीकृत समाजवादी गठन भएदेखि नै सत्ताबाट बाहिरिनु परेको छैन। एमालेबाट विभाजन भएको एकीकृत

समाजवादीले यो बीच जति गठबन्धन बने सबैमा अवसर पाएको छ। अघिल्लो पटक कांग्रेस, माओवादीको गठबन्धन र पछिल्लो पटक एमाले, माओवादीको गठबन्धनमा छ एकीकृत समाजवादी।

अध्यक्ष माधवकुमार नेपाल कांग्रेसतिर ढल्किए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छोड्न सकेका छैनन्, जति घुर्की लगाएपनि। अहिले वाम गठबन्धनमा रहे पनि उनी बेलाबेला धम्की दिइरहेका छन्। उनको धाउन्न कांग्रेससँग मिल्ने अनि ६ महिनाका लागि भए पनि प्रधानमन्त्री बन्ने छ।

तर, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने एमालेतिर ढल्किएका छन्। उनी यही गठबन्धनमा रहनुपर्ने बताइरहेका छन्।

पछिल्लो पटक  माधव–झलनाथ टकराव छ। युवा संघमा समानान्तर अभ्यास भइरहेको छ। युवा संघ नेपालका संयोजक कृष्ण विक र सह–संयोजक नितेश पौडेलबीच नेतृत्वका लागि विवाद हुँदा समानान्तर अभ्यास सुरु भएको हो।

तर, यो विवाद संगठनमा मात्र होइन पार्टीको आगामी नेतृत्वका लागि अभ्यास हो।

अध्यक्ष नेपाल आगामी महाधिवेशनबाट फेरि नेतृत्व दोहोर्याउने दाउमा छन्। उनी चाहन्छन् मेरो बाटोमा कोही तगारो नबनोस्। तर, खनाल भने नेपालसँग भिड्ने मुडमा छन्।

त्यही भएर एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई सिद्धान्त मान्ने कि हटाउने भन्नेमा यी दुई नेताबीच द्वन्द्व छ।

अध्यक्ष  नेपाल र खनाल सार्वजनिक रूपमै आरोप–प्रत्यारोपमा उत्रिएका छन्। नेपालले खनालमाथि जबजको विचार समाप्त पार्न खोजेको आरोप लगाएका छन्।

एकीकृतको महाधिवेशन यही असार १६ देखि २० गते काठमाडौंमा हुँदैछ। २०७८ भदौमा नेकपा ९एमाले० बाट विभाजित भएर एकीकृत समाजवादी गठन भएको थियो।

महाधिवेशनमा  खनाल र नेपाल अध्यक्षका दाबेदार छन्। दुवै नेताहरूले आफूलाई अध्यक्षको दाबेदारका रूपमा प्रस्तुत गरिसकेका छन् । उनीहरूले नेतृत्व लिने योजनासहित पार्टी विधानबाट ७० वर्षे उमेर हदको व्यवस्था पनि हटाइसकेका छन् ।