गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा नापी अधिकृत पुरीलाई सफाइ

३० जेठ, काठमाडौं  गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले दुई जनालाई सफाइ दिएको छ । नापी कार्यालय चावहिलमा कार्यरत राजु पुरी र उनकी श्रीमती श्रृजना गिरीले सफाइ पाएका हुन् ।  

बुधबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो । गिरी दम्पत्तिविरुद्ध १४ साउन ०८० मा मुद्दा दायर भएको थियो । 

०५२ पुसदेखि ०७९ असारसम्मको वैध आय एक करोड २० लाख ७७ हजार रुपैयाँ हुनुपर्नेमा उनको आय दुई करोड २४ लाख रुपैयाँभन्दा बढी देखिएको थियो । यसरी एक करोड ४ लाख रुपैयाँको स्रोत नखुलेको निष्कर्षसहित अख्तियारले पुरी दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो । 

उनकी श्रीमती श्रृजनालाई भने जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको थियो । नापी अधिकृत पुरीले अवैध रुपमा आर्जन गरेको र त्यसबाट बढे बढाएको सम्पत्ति उनको नाममा राखेको दाबी अख्तियारको थियो ।