वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

किन धमाधम विद्यालयका सटरमा ताला लगाउँदैछन् बालेन ?

काठमाडौं महानगर अचेल सामुदायिक विद्यालयका सटरमा ताला लगाउन व्यस्त छ। मेयर बालेन शाहको निर्देशनमा महानगरको शिक्षा विभाग आइतबारबाट धमाधम ताला लगाइरहेको छ। हालसम्म ११ विद्यालयका २३६ सटरमा ताला लगाइएको छ। 
 

जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटरमा ताला लगाइएको छ। यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए। यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए।

https://barnanmedia.com/news/detail/178741/

बन्द गरियोस् पजनी शैलीमा सर्वोच्चबाट वरिष्ठ अधिवक्ताको उपाधि दिने प्रथा

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) बोलाएका छन् । वरिष्ठ अधिवक्ताको उपाधि दिन तयार पारिएको सूचीमाथि छलफल गर्न फुलकोर्ट बोलाएको बताइएको छ । 

 

 न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा गठित समितिले डेढ सयभन्दा बढी अधिवक्ताको सूची बुझाएर वरिष्ठ उपाधि प्रदान गर्न सिफारिस यसअघि नै गरिसकेको छ । सिफारिसअनुसार निर्णय भएमा वरिष्ठ अधिवक्ताको सबैभन्दा ठूलो हुल पहिलोपल्ट दीक्षित हुनेछ ।

यद्यपि सर्वोच्चका न्यायाधीशहरुबीच यस विषयमा एकमत देखिँदैन । यति ठूलो संख्याका कानुन व्यवसायीलाई एकसाथ वरिष्ठ उपाधि प्रदान गर्दा यस उपाधिको मर्यादा र महत्त्व नै कायम नरहने तर्क केही न्यायाधीशले गरेका छन् भने केहीले उक्त सूचीमा भएका भएका व्यक्तिहरुको योग्यता, इमान, निष्ठा र क्रियाशीलतामा प्रश्न उठाएका छन् ।

https://barnanmedia.com/news/detail/178746/

वकिलले सर्वाेच्चको सुनुवाई रोक्ने प्रक्रिया न्यून

सर्वाेच्च अदालतमा मंगलबार दैनिक पेशी चढेका मुद्दामध्ये दश प्रतिशत फैसला भएका छन् । 

पेशीमा चढेको ५ सय १ वटा मुद्दामध्ये अठचालिस वटा मुद्दाको फैसला हुंदा ९ दशमलव ५ प्रतिशतभन्दा माथि अर्थात् दश प्रतिशतभन्दा कम मुद्दाको फैसला भएको हो । मंगलबार कानुन व्यवसायीले एउटा मुद्दा पनि सुनुवाई स्थगित नगरेका कारण पनि सुनुवाईको संख्या बृद्धि भएको हुनसक्ने विश्लेषण गरिएको छ । 

मंगलबार दैनिक पेशी सूचिमै नचढी स्थगित भएको १ सय २८ वटा मुद्दा बाहेकका पेशीमा चढेका मुद्दाको संख्याका आधारमा मात्र यो प्रतिशत निकालिएको हो । सो संख्या समेत हिसाब निकाल्दा फैसला भएका मुद्दा संख्या आठ प्रतिशतमा झर्न सक्ने अवस्था आउदथ्यो ।

https://barnanmedia.com/news/detail/178755/

तीन महिनाअघि दायर भ्रष्टाचार मुद्दामा अदानचुलीकी उपाध्यक्षसमेत ११ जनालाई सफाइ

हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसमेतले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । साथै उपाध्यक्ष सौमति रावल ऐडीलाई पनि सफाइ दिइएको छ । 

बुधबार विशेष अदालतले ११ प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो । विशेषका सदस्यहरु खुसीप्रसाद थारु, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । 

दुरुपयोग अनुसन्धान आयोगले गत १६ फागुनमा सिँचाइ आयोजना निर्माणमा अनियमितता भएको दाबीसहित मुद्दा दायर गरेको थियो । जसमा पाण्डेका साथै इन्जिनियर मकरध्वज शाही, सब–इन्जिनियर जयराम छन्त्याल, योजना शाखाका मंगल भण्डारी र लेखापाल दीपक नेपालीलाई प्रतिवादी बनाइएको थियो । 

https://barnanmedia.com/news/detail/178820/

राजनीतिकरुपमा शान्ति प्रक्रिया पूरा भइसक्यो, कानुनी हिसाबले छिटो टुङ्ग्याऔँ : सांसद दाहाल

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राजनीतिकरुपमा शान्ति प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै अब चाँडै कानुनी हिसाबबाट पनि टुङ्ग्याइनुपर्नेमा जोड दिनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई तत्काल पारित गरिनुपर्ने बताउनुभयो । “जनताको तहबाट शान्ति प्रक्रिया निष्कर्षमा पुगिसेको भने सेना समायोजन, हतियार व्यवस्थापनलगायत काम पनि सम्पन्न भइसकेका छन्”, सांसद दाहालले भन्नुभयो, “गठबन्धनमार्फत एकअर्कामा भोट साटासाट गरिसकेका छौँ । सामाजिक सद्भाव तथा एकताका दृष्टिकोणबाट शान्ति प्रक्रिया सम्पन्न भइसकेको छ, त्यसले अव कानुनी हिसाबले पनि ती काम टुङ्ग्याउन आवश्यक छ ।”

घरायसी विवाद हुदा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

 बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। पाटन नगरपालिका-४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो। 

 

मंगलबार घरायसी विवाद भएको र सोही क्रममा श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनाको बुधबार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। 

सुन्दरीजलकै धारामा आउँदैन खानेपानी

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन् । 

 

सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७ दशमलव ५ किमी सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा मौसममा काकाकुल छन् । यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ । वर्षायाममा वाग्मतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड

 मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबिबीएस) अध्ययन–अध्यापन कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । 

 

आज प्रतिष्ठानका उपकुलपति प्राडा अङ्कुर साह, रजिष्ट्रार प्राडा विनोदकुमार यादव र मातहतको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल डाइरेक्टर डा रामनरेश पण्डितसँगको छलफलमा उहाँले कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रममा समेत समावेश गरिसकेको जानकारी स्मरण गराउनुभयो ।

खेल र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । 

पोखरा रङ्शालामा आजदेखि सुरु भएको ‘यु–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभएको हो । “प्रदेश सरकार खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त भएर हामी अगाडि बढिरहेका छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि यहीअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दर्छौं ।”

आगलागी हुँदा मृत्यु हुनेमध्ये १५ जनाको पहिचान मृत्यु : हुनेमध्ये १० जना भारतीय र पाँचजना मलेसियन

 दक्षिण कुवेतको मंगाफ सहरको कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा मृत्यु हुनेमध्ये १५ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमध्ये १० जना भारतीय र पाँचजना मलेसियन रहेको कुवेतका मिडियाले उल्लेख गरेका छन् । मृत्यु हुने भारतीय अधिंकाश दक्षिणी क्षेत्रका छन् । 

आगलागी भएको भवनमा १९५ जना विदेश कामदार राखिएको थियो । त्यहाँ बस्ने कामदार अधिकांश भारतको केरला, तमिलनाडु र उत्तर भारतका रहेको जनाइएको छ । 

आगलागी भएको भवन एनबीटीसी ग्रुपसँग सम्बन्धित रहेको थियो । यसका मालिक मलेसियाका व्यापारी केकी अब्राहम हुन् ।आगलागी भएको भवनमा नेपाली पनि रहेको आशंका गरिएको छ । घटनामा नेपाली कामदार परे वा नपरेकोबारे बुझ्न कुवेतस्थित नेपाली दूतावासले आफ्ना तीन कर्मचारीलाई घटनास्थलमा पठाएको छ । 

सवारी साधन दुर्घटना हुँदा ४ जना घाइते

काभ्रेपलाञ्चोकमा सवारी साधन दुर्घटना हुँदा चारजना घाइते भएका छन्। बुधबार अपरान्ह रोशी गाउँपालिका १० डाडागाउँस्थित भित्री सडक खण्डमा बनेपाबाट महाभारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च. ०७७९ नं. बोलेरो गाडीको ब्रेक फेल भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा गाडी चालक काभ्रेको महाभारत गाउँपालिका–७ बन्खु बस्ने वर्ष २९ को सविन घलान (हात र छातीमा गहिरो चोट अबस्था मध्यम), सोही ठाउँका वर्ष ५५ को दुर्गा बहादुर पाख्रिन (दुवै हातमा चोट, अवस्था मध्यम), जोमो माया पाख्रिन (दुवै हातमा चोट अवस्था सामान्य), तथा वर्ष १७ को सोनाम मोक्तान (देव्रे हात भाँच्चिएको अवस्था मध्यम) रहेका छन्।

‘वैकल्पिक राजनीतिक शक्तिहरु एकताबद्ध हुनुपर्ने’

विभिन्न राजनीतिक दलका नेताहरुले वैकल्पिक राजनीतिक शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित  ‘वैकल्पिक राजनीतिको औचित्व र सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी दलका नेताहरुले नयाँ शक्तिहरु विचार र मुद्दाका आधारमा एकताबद्ध भएर जानुपर्नेमा जोड दिनुभएको हो ।      

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकास र आर्थिक समृद्धिको यात्रामा सबै राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैकल्पिक नयाँ शक्ति कुनै लहडमा नभई समयको माग र परिस्थिति भएको बताउनुभयो  ।

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

 नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । 

स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गर्नुभयो ।

नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने

नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिनुभयो । 

उहाँका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये छ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरुको बासस्थान बनेको उहाँले बताउनुभयो ।

आफै मल बनाउँदै खेती गर्छन् विद्यार्थी 

बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि प्राङ्गारिक मलसमेत विद्यालयमै बनाउन थालेका हुन् । 

 

प्राङ्गारिक मल खरिद गर्नसमेत महँगो पर्ने भएकाले विद्यार्थीले कुहिने झारपातबाट प्राङ्गारिक मल बनाउँदै किबी तथा तरकारी खेती गर्दै आएका छन् । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन विद्यालयकै तीन रोपनी जग्गामा विसं २०६८ सालमा परीक्षणका लागि किबी रोपिएको थियो । उक्त किबी अहिले व्यावसायिक रुपमा उत्पादन भइरहेको छ । 

जीवन-मरणको सम्बन्ध दर्शाउने प्रतिस्थापन कला

चितामा लास छ । छेवैमा अगरबत्तीको मन्द वासना आइरहेको छ, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, कागजात र हवाई टिकट देखिन्छ । वरिपरि खादा र ध्वजापताका, केहीपर लास जलाउन चाहिने काठका मुढा । मृत व्यक्तिको शरीरभरि ट्याटु छ । घोटिएका पैताला, घाँटी र कम्मरमा चोट छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेको कलाकार टासी शेर्पाको ‘मरी लानु के छ र’ शीर्षकमा बनाइएको प्रतिस्थापन कलाको चित्रण हो यो । यो कलाले वास्तविक घटनाको अनूभूति दिलाउँछ । यहाँ जीवनको यथार्थलाई प्रत्यक्ष देखाइएको छ । एउटा मानिस बाचुन्जेल धन कमाउन इष्र्या, घमण्ड, लोभ, लालचमा समाहित हुन्छ तर उहाँको सिर्जनाले जस्तो जन्मियो त्यस्तै जाने हो, लोभ, मोह व्यर्थ हो भन्ने सन्देश दिएको छ । 

“त्यो मानिसभित्रको दुखी आत्मालाई हटाउन मद्दत मिल्छ की भनेर प्रयास गरेको हुँ”, कलाकार शेर्पा भन्नुहुन्छ, “बाँचुञ्जेल लोभलालच नगरौँ, एक अर्कालाई समान र माया गरौँ भन्न खोजिएको हो ।” उहाँका अनुसार यो कलाले जीवनको सादगी र अनन्ततालाई जोड दिन्छ ।