तीन महिनाअघि दायर भ्रष्टाचार मुद्दामा अदानचुलीकी उपाध्यक्षसमेत ११ जनालाई सफाइ

, काठमाडौं३० जेठ :हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसमेतले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । साथै उपाध्यक्ष सौमति रावल ऐडीलाई पनि सफाइ दिइएको छ । 

बुधबार विशेष अदालतले ११ प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो । विशेषका सदस्यहरु खुसीप्रसाद थारु, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ फागुनमा सिँचाइ आयोजना निर्माणमा अनियमितता भएको दाबीसहित मुद्दा दायर गरेको थियो । जसमा पाण्डेका साथै इन्जिनियर मकरध्वज शाही, सब–इन्जिनियर जयराम छन्त्याल, योजना शाखाका मंगल भण्डारी र लेखापाल दीपक नेपालीलाई प्रतिवादी बनाइएको थियो । 

ढकनीकुनादेखि मुढेघट्टसम्मको सिँचाइ सम्झौतामा निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गरी गराइ, झुठा नापी किताब र उपभोक्ता समितिको बिलका आधारमा भुक्तानी गरेको अभियोग उनीहरुमाथि थियो । ०७४÷७५ को उक्त आयोजनामा झन्डै ४५ लाख अनियमितता भएको दाबी अभियोगपत्रमा गरिएको थियो । 

कार्य सम्पन्न प्रतिवेदन समेत झुठा बनाइ फिल्डमा भएको कामभन्दा ४२ लाख २९ हजार रुपैयाँ बढी भुक्तानी गरेको भेटिएको थियो । यसैगरी वडा नं. ३ का अध्यक्ष दत्त विष्टमाथि पनि मुद्दा दायर भएको थियो । 

अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमटाले पनि सफाइ पाएका छन् । उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीलाई पनि विशेषले सफाइ दिएको हो ।