किन धमाधम विद्यालयका सटरमा ताला लगाउँदैछन् बालेन ?

काठमाडौं महानगर अचेल सामुदायिक विद्यालयका सटरमा ताला लगाउन व्यस्त छ। मेयर बालेन शाहको निर्देशनमा महानगरको शिक्षा विभाग आइतबारबाट धमाधम ताला लगाइरहेको छ। हालसम्म ११ विद्यालयका २३६ सटरमा ताला लगाइएको छ। 
 

जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटरमा ताला लगाइएको छ। यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए। यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए।

यससँगै शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर बन्द गरिएका छन्। 
अघिल्लो दिन ४ वटा विद्यालयका ६१ वटा सटरमा ताला लगाएको थियो । यसरी ताला लगाइएका सटरमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारमा रहेको सहिद शुक्र माविका २२ वटा, विजय स्मारक मावि डिल्लीबजारका ८ वटा र पदमकन्या मावि डिल्लीबजारका १४ वटा सटर छन्। 

महानगरले किन धमाधम ताला लगाउँदैछ त? शिक्षा अधिकृत नेत्रनारायण पौडेल भन्छन्,  ‘शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको  नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकोले ताला लगाउनु परेको हो ।’ यस व्यवस्था अनुसार विद्यालयको सम्पत्ति विद्यार्थीहरुको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि उपयोग गर्न पाइन्छ। 

ताला लगाइएका सटरहरुको चावी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ। व्यवसाय सञ्चालन गर्न नदिने तर व्यवसायीका सामान सारेर लैजाने सर्तमा प्रधानाध्यापकहरुलाई ताला दिइएको हो। 

मेयर शाहको सचिवालयका प्रमुख सस्मित पोखरेलका अनुसार ०८० चैत २ गते शिक्षा विभागबाट सबै सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेर विद्यालय हाताभित्र भएका भाडामा लगाइएका, वहाल अवधि सकिएका सटरको नविकरण नगराउन भनिएको थियो। अनुगमनका क्रममा देखिएको यो अवस्था सुधार गर्न विद्यालयहरुबाट चासो नदेखाए पछि ताला लगाउनु परेको हो। उनका अनुसार ताला लगाइएका ठाउँ खाली गरेर शैक्षिक क्रियाकलापका लागि उपयोग हुनेछन्।  तर, केही विद्यालयले सटर भाडामा लगाएर भइरहेको आम्दानीबाट शिक्षक पालिरहेको अवस्थामा महानगरले ताला लगाएपछि समस्या भएको बताएका छन्। पोखरेल भने काठमाडौं महानगरका कुनै पनि विद्यालयमा शिक्षकलाई तलब खुवाउन समस्या भए महानगरले पैसा दिने बताए। ‘विद्यालयलाई के कति बजेट चाहिन्छ महानगरले बेहोर्छ तर विद्यालयको चउर, खेल मैदान मासेर सटर बनाइ भाडामा लगाउन पाइँदैन,’ उनले भने । 
 

विद्यालयहरु स्थान अभाव भएको बताउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको भन्दै आएका थिए। यसरी गुनासो गरिरहँदा आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा आएन।

‘विद्यालयहरुमा विज्ञान र  कम्प्युटर ल्याब बनाउनु पर्नेछ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनु पर्नेछ । भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालन उपयोगमा ल्याउँछौँ,’ उनले भने। 

विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्छ । विद्यालयले सरकारी सम्पत्ति आफूखुशी भाडा लगाउन पाउँदैनन् । कतिपय विद्यालयहरुले नक्सा स्वीकृत नगरी टहरा बनाएर भाडामा लगाएका पनि छन् । यी सबै ठाउँबाट व्यवसायिक प्रयोजन हटाइनेछ र शैक्षिक क्रियाकलाप स्थापित गरिनेछ । 

महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको अनुगमनपछिको प्रतिवेदनमा देखिएको छ।