चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर

सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा कसूरदार कायम गरेको हो । 

भट्टराईसमेत पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्ष अघि मुद्दा दायर गरेको थियो । यसैमाथि सुनुवाइ गर्दै विशेषका सदस्यहरु खुसीप्रसाद थारु, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले ठहर हुने फैसला गरेको हो । 

उनको जाँच अवधिमा १४ लाख ७४ हजार रुपैयाँ गैरकानूनी आर्जन रहेको ठहर विशेषले गरेको छ । फैसला गर्दै विशेषले उनलाई तीन महिना कैद र बिगोबराबर जरिवाना हुने उल्लेख गरेको छ भने उक्त रकमबराबर सम्पत्ति जफतसमेत हुने भएको छ ।  अख्तियारले १९ वैशाख ०८० मा एक करोड १५ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । उनी ०३८ साउनदेखि सरकारी सेवामा प्रवेश गरेका हुन् ।