के ओली–प्रचण्ड गठबन्धन दिल्लीबाट नवीकरण भएकै हो त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किए । उनी भ्रमण सफल भएको भन्दै दंग छन् । भारतमा प्रचण्डले पाएको मानसम्मानबाट उनको समर्थक पंक्ति पनि पुलकित छ।

मोदीले प्रचण्डलाई एक्लै पनि भेटे। मन्त्री जयशंकरलाई पनि भेट्न लगाए । यस हिसाबले हेर्दा छिमेक पनि प्रचण्डलाई खास महत्त्व दिएको हो कि भन्ने पनि देखिन्छ ।तर यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने प्रचण्ड त्यहाँ बोलाइएका पाहुना हुन् । आफैले आमन्त्रित गरेका पाहुनाको स्वागत सत्कार हुनु स्वाभाविक र सामान्य हो । 

अझ मोदीका दृष्टिमा प्रचण्ड केवल माओवादी नेता मात्र होइनन् । नेपालका प्रधानमन्त्री हुन् । नेपाल राज्यका प्रतिनिधि हुन् । निकट छिमेकीसँगको सम्बन्धमा सुमधुरता देखाउनकै लागि भए पनि मोदीले यति गर्नैपर्ने हुन्थ्यो ।

भारतमा मोदीको राजनीतिक शक्ति केही कमजोर भएको छ । उनको शक्तिक्षय हुनुमा छिमेकीसँगको सम्बन्ध पनि एउटा कारण हो । नेपालको संविधान रोक्न खोजे । सीमा विवाद बल्झाउन पुगे । धार्मिक अतिवादको असफल प्रयोगमा उनी एक्सपोज मात्र भए । नोटबन्दीका कारण नेपाल राष्ट्र बैंकमा थुप्रिएका भारतीय मुद्रा साटिदिएनन् । पञ्चेश्वरलगायत केही परियोजनामा मोदीले गफ दिए तर स्थलगत रुपमा काम अघि बढेन । सन् २०१४ मा उनी शक्तिमा आउँदा अवस्था जे थियो, अहिले पनि त्यही छ ।

प्रचण्डलाई महत्त्व दिएको देखाएर उनले छिमेकीको विश्वास जित्न चाहेको र नजिकै राख्न खोजेको देखाउन सके । यो मोदीको बाध्यता हो । किनभने भारतमा भाजपा एक्लैको बहुमत रहेन । प्रधानमन्त्री मोदी गठबन्धनमा निर्भर रहनुपर्ने भयो । पहिलाभन्दा घटेको शक्तिका साथ सत्तामा निरन्तरता पाएका मोदीका निम्ति छिमेकलाई विश्वासमा लिएरै अघि बढ्नुपर्ने बाध्यता छ । 
अन्तर्राष्ट्रियरुपमा हिजो मोदीलाई जुन तहमा सुनिन्थ्यो र स्वीकार गरिन्थ्यो, अब त्यस्तो नहुन सक्छ ।

तसर्थ, छिमेकीलाई साथमा राखेको देखाउनुको मोदीका निम्ति खास अर्थपूर्ण छ । त्यसैले प्रचण्डलाई आएको निम्तो र दिल्लीमा भएको भेटले यहाँको ओली–प्रचण्ड गठबन्धनको नवीकरण हो भनेर बुझ्नु बच्कनापन हुनेछ ।

मोदी आफैलाई अहिले आन्तरिक व्यवस्थापन ठूलो चुनौती बनेको छ । हिजोको दिनमा भाजपा अत्यधिक शक्तिमा थियो । अहिले त्यो अवस्था नभएकोले छिमेकीसँगको सम्बन्ध र व्यवहार फरक रुपमा अगाडि बढाउनुपर्ने हुन्छ । सतर्कतापूर्वक व्यवहार गरिएन भने त्यो प्रत्युत्पादक बन्न सक्छ । 

मोदीको सत्ताको चाबी नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका नीतिशकुमारको हातमा पुगेको छ । गढवालमण्डलका अजित डोभलको सुरक्षा र जासुसीको आँखाले हेरिने नेपाल सम्बन्धभन्दा नीतिशकुमारले राजनीतिक र सांस्कृतिक सम्बन्धका आँखाले हेर्ने सम्बन्ध बढी यथार्थपरक हुनेछ । यसकारण पनि मोदीले तत्कालै नेपालमा आफूले चाहेको परिस्थिति सिर्जना गर्नेभन्दा पनि जे परिस्थिति छ त्यसैमा आफ्नो हित र चासोको सम्बोधन खोज्न सक्नेछन् ।

यो नेपालका नेताहरुका निम्ति राम्रै कुरा हो । यद्यपि दिलीमा मोदीको धाप पाए भन्दैमा प्रचण्ड सत्ता सुरक्षित भयो भनेर निष्कर्ष निकालिहाल्नुचाहिँ मूर्खता हुनेछ । उनको उथलपुथलका लागि घरेलु कारण नै पनि काफी छन् । गठबन्धनमा रवि लामिछानेदेखि माधव नेपालसम्मका नेतामा जुन उकुसमुकुस छ, त्यसले जुनसुकै बेला सत्तापलट गराइदिनेछ । यसमा भारत वा महाभारतको भूमिका आवश्यक नै छैन ।