बाबुरामको असंसदीय अभ्यास गण्डकीमा देखियो, कानुन मिचेर ‘फ्लोर क्रस’

तत्कालीन एकीकृत माओवादी छाडेपछि ओरालो लागेका डा बाबुराम भट्टराई नेपाली राजनीतिबाट ओझेलमा छन्। कुनै बेला भरोसायोग्य नेताको छवी बनाएका भट्टराई अब एकल बुतामा कुनै पनि निर्वाचन क्षेत्रबाट जित्न नसक्ने स्थितिमा छन्। त्यही भएर उनले ०७९ को निर्वाचन लडेनन्।

छोरी मानुषी यमीलाई पनि आफ्नो दल नेपाल समाजवादी पार्टीको चुनाव चिह्नबाड लडाउने हिम्मत गरेनन्। बरु माओवादी छाडे पनि त्यही दलको चुनाव चिह्न हसियाँ हतौडाबाट उनकी छोरीले चुनाव लडिन्। हारिन पनि।

अहिले गण्डकीमा प्रदेशसभा सदस्य रहेका फणीन्द्र देवकोटा पनि त्यसैगरी माओवादीको चुनाव चिह्नबाट चुनाव लडेका थिए। उनी विजयी पनि भए। तर, अहिले बाबुरामको  निर्देशनमा देवकोटाले कानुन मिचेका छन्। देवकोटाले ‘फ्लोर क्रस’ गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन्। ‘मेरो राजनीतिक पार्टी नेपाल समाजवादी पार्टी हो नि। मेरो पार्टीले प्रदेश र केन्द्रबाट दिएको निर्देशन अनुसार मैले काम गरेको हुँ,’ उनले भने। तर, कानुनले त्यसो भन्दैन। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले देवकोटालाई नेपाल समाजवादीको सांसद भनेर चिन्दैन। जुन पार्टीको चुनाव चिह्न लिएर निर्वाचन लडेको हो, त्यही दललाई चिन्दछ। र, उनीमाथि माओवादीको ह्वी पनि लाग्छ।

माओवादी दलनेता हरिबहादुर चुमानले देवकोटालाई स्पष्टीकरण सोधिने र त्यसपछि थप प्रक्रिया अघि बढाइने बताए । ‘स्पष्टीकरण चित्तबुझ्दो नभएमा कारबाही प्रक्रिया अगाडि बढ्छ । चित्तबुझ्दो स्पष्टीकरण नभए उहाँको पद रिक्त हुन्छ, निष्कासन हुन्छ दलको विधान र निर्णयअनुसार,’ दल नेता चुमानले भने । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ (३) मा भनिएको छ,, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफाबमोजिम दुईवा दुईभन्दा बढी दल संयुक्त रूपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ र यसरी संयुक्त रूपमा निर्वाचनमा सहभागी भएका अन्य दलका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरू सोही संसदीय दलको सदस्य भएको मानिनेछ ।’ यो व्यवस्थाअनुसार देवकोटा नेसपाबाट निर्वाचित एक जना मात्र भएकाले माओवादी संसदीय दलकै सदस्य हुन्छन्। यो अवस्थामा देवकोटाको सांसद पद जानसक्छ। यदी देवकोटाको सांसद पद गएमा मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा पर्नेछ।

कांग्रेससँग २७ सिट छ। पाण्डेलाई विश्वासको मत दिएको राप्रपा २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेको सहयोगले मात्र उनको सरकार टिक्दैन। यो अवस्थामा ३० मत मात्र हुन्छ। सरकार चलाउन ३१ सिट चाहिन्छ।
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि देवकोटालाई कारबाही हुने बताइसकेका छन्। जसले संविधान र कानुनको मर्म विपरीत ‘फ्लोर क्रस’ गरेकालाई त स्वभाविक रुपमा पार्टीले हृवीप जारि गरिसकेको थियो। कारबाही हुन्छ । निलम्बन हुन्छ,’ भारत भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले भने।