तनहुँमा षड्यन्त्रपूर्वक हराइएका जोशीले पाए न्याय, पुनः मतगणना गर्न उच्च अदालतको आदेश

काठमाडाैँ। स्थानीय तहको निर्वाचनमा तत्कालीन सत्तापक्षलाई जिताउन धेरैतिर गडबडी भएको पाइएको छ । त्यसमध्ये तनहुँको व्यास नगरपालिका एउटा उदाहरण हो । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको मतगणनामा गडबडी भेटिएपछि पुरानो नतिजा बदर गरी पुनः गणना गर्न आदेश दिएको छ । 

न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले यो आदेश दिएपछि गडबडी सतहमा आएको हो । निर्वाचन सम्पन्न भएर पनि निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको २ वर्षपछि उच्च अदालतको यो आदेश आएको हो ।

स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै २०७९ जेठ १२ गते उच्च अदालतमा रिट दिएका थिए। दीपक पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । उनलाई नेकपा एमालेले समर्थन गरेको थियो ।

कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित जोशीले बिहीबार उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए। न्यौपानेले १२ हजार ७८ पाएका थिए भने र जोशीको पक्षमा ११ हजार ८ सय २६ मत देखिएको थियो ।

जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर  षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थियो । उच्च अदालतले उनको दाबीअनुसारै फैसला गरिदिएपछि निर्वाचन आयोगले फेरि मतगणना गरेर नतिजा प्रकाशन गर्नुपर्ने भएको छ ।

तनहुँमा कांग्रेस र माओवादी मिलेर अन्य दलमाथि हिंस्रक दमन गरेका थिए । प्रहरी प्रशासनको पनि व्यापक दुरुपयोग गरिएको थियो । रिस्ती भन्ने ठाउँमा मेयरका उम्मेदवार जोशीको हत्या प्रयास भएको थियो । रिस्तीलगायत धेरै ठाउँमा भोट खसेको भन्दा धेरै गनिएको थियो ।

अदालतको यस आदेशले अब जोशीले पनि न्याय पाउने आस पलाएको छ भने वास्तविक जनादेशले ठाउँ पाउने भएको छ । यो राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला पनि हो । त्यहाँ पौडेल र गोविन्दराज जोशीबीच कांग्रेसभित्र प्रतिद्वन्द्विता बढ्दै जाँदा दीपक जोशीले पनि विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गोविन्दराज जोशीको राजनीति सिध्याउन पौडेलले अनेक हत्कण्डा अपनाएको जोशी परिवारको बुझाइ छ ।