देशैभरका न्यायलयमा एकसाताको सुनुवाई प्रभावित हुने

काठमाण्डौं, जेठ २ :सर्वाेच्च अदालतले जेठ ४ देखि ७ गतेसम्मको लागि हुन गइरहेको नेपाल बार एशोसिएशनको १६ औं अखिल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनका सन्दर्भमा देशैभरीका अदालतको सुनुवाई एकसाता स्थगन गर्न परिपत्र जारी गरेको छ । 

सर्वाेच्च अदालतले बैशाख ३१ गते जारी गरेको परिपत्रमा जेठ ३ देखि जेठ ७ गतेसम्मको लागि कानुन व्यवसायीको निवेदनका आधारमा सुनुवाई स्थगित गर्न परिपत्र जारी गरेको हो । 
कानुन व्यवसायीले राष्ट्रिय सम्मेलनमा भाग लिनुपर्ने कारण उल्लेख गरी निवेदन दिएमा सुनुवाई स्थगित गरेको विषयमा पटक कायम नहुनेगरी स्थगित गरिदिनका लागि समेत सर्वाेच्च अदालतले उच्च अदालत, जिल्ला अदालत र सम्पूर्ण इजलास तथा विशेष अदालतहरुमा परिपत्र जारी गरेको हो ।

विरामी परेमा वा किरिया बस्नुपर्ने जस्तो गम्भीर कारण परी मुद्दा स्थगित गर्न कानुन व्यवसायीलाई सामान्यतया दुईपटक दिने गरिएकोमा सम्मेलनमा भाग लिनुपर्ने कारण पर्दा पटक कायम नुहने गरी मुद्दा स्थगित गर्न पनि परिपत्र जारी भएको हो ।

बाइस हजार कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनले न्यायालयको पुनर्संरचनाको एजेण्डा बनाई आफ्नो १६ औं राष्ट्रिय सम्मेलन शुक्रबार सुरु गरेर सोमबार समापन गर्ने तय भएको छ । 

राष्ट्रिय सम्मेलनमा नेपालको न्यायालयको पुसंरचना कसरी गर्ने भन्ने विषयमा नेपाल बार एशोसिएशनले बरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा गठित पुनसंरचना समितिको प्रतिवेदन समेत पेश गरिनेछ ।