सत्ता र प्रतिपक्षको बालहठका कारण बन्दक बन्यो संसद, ओली र प्रचण्ड रविको सती जान लागेका हुन्?

सत्ता र प्रतिपक्षको बालहठका कारण संसद बन्दक बनेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने कांग्रेसको माग र जसरी पनि पेलेरै जाने सत्तारुढ दलको अडानका कारण संसद बैठक नाम मात्रका लागि बस्न थालेको छ। संसद बैठक बस्छ, सांसदले हाजिर गर्छन्। तर, बैठकमा कुनै कामकारवाही हुँदैन।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाए। तर, टेबुल हुन पाएन। कतिसम्म भने सांसदहरुले राष्ट्रपतिलाई धन्यवाद पनि दिन पाएनन्। कांग्रेसबाट राष्ट्रपति बनेकाले पौडेलप्रति पार्टी लचिलो बनेको थियो। जसकारण उनले नीति तथा कार्यक्रम पढेर सुनाउने मौका पाएका हुन्। लगत्तै बस्ने अर्काे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबुल गर्नुपर्ने थियो। तर, कांग्रेसले सदन चल्न नदिने भनेपछि टेबुल नै भएन। सभामुख देवराज घिमिरेले संसदको अर्काे बैठक ३ जेठमा बोलाएका छन्।

सदन अवरोध पहिलो पटक होइन। अघिल्लो अधिवेशनभर कांग्रेसले यही रटान लगाएको थियो। सहकारी ठगी प्रकरणमा मुछिएका रविमाथि संसदीय छानबिन हुनुपर्ने उसको अडान छ। त्यही भएर सदन अवरुद्ध पार्दै आएको थियो। पछिल्लो पटक कांग्रेसले रविलाई  रोस्टममा बोल्न दिएन। गत शुक्रबारको बैठक यही विषयमा लफडा भएर सकियो। त्यसपछि रवि र कांग्रेस महामन्त्री गगन थापाबीच वार नै चल्यो।

अब पनि संसद नियमित चल्ने छाट छ्रैन। १५ जेठमा सरकारले बजेट ल्याउनुपर्नेछ। त्यसअघि संसदमा छलफल हुनुपर्छ। तर, सत्ता र प्रतिपक्षको बालहठका कारण सदन बन्दक बनेको हो।
रवि सहकारी ठगीमा मुछिएको प्रष्ट नै छ । उनी एउटा सहकारी होइन दुईवटामा मुछिएका छन्। ग्यालेक्सी टिभीको एमडी छँदा उनको नाममा पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट ऋण गएको छ, जुन गैरकानुनी छ। तर, रवि आफ्नो बचाउ त गर्ने भए नै। एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड पनि रविको सति जान थालेका छन्। जसले उनीहरुको दललाई नै खती हुने प्रष्ट छ।