बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका

ढोरपाटन (बागलुङ), २८ वैशाख : यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते हुनुभयो । घाइते बुढामगर र घर्तीमगर अहिले पनि अस्पतालमै उपचाररत हुनुहुन्छ । आगलागीमा परी मृत्यु हुनुभएका देवसिंहको पारिवारिक अवस्था निकै कमजोर छ । ज्याला मजदुरी गरी परिवारको लालनपालन गर्दै आउनुभएका कामीको मृत्युले यतिबेला उहाँको परिवार विक्षिप्त छ ।

   समस्यामा परेको कामी परिवारलाई तमानखोला गाउँपालिकाले मलम लगाउने प्रयास गरिरहेको छ । देवसिंहको मृत्यु भएको केही दिनमै गाउँपालिकाले घरमै पुगेर रु एक लाख राहत उपलब्ध गराएको थियो । घाइते दुवै जनाको उपचारका लागि रु ७५÷७५ हजार सहयोग गरेको छ । मृतक कामीको आर्थिक अवस्था कमजोर भएको हुँदा गाउँपालिकाले उहाँका कान्छा छोरा टोपबहादुर विकलाई कक्षा १२ सम्म बालगृहमा राखेर पढाउने भएको छ ।    टोपबहादुर अहिले कक्षा ९ मा पढ्नुहुन्छ । देवसिंहको परिवारमा दुई छोरा, दुई छोरीसहित श्रीमती हुनुहुन्छ । जेठो छोरा र छोरीले केही वर्ष अगाडिनै पढाई छोडेका थिए । कान्छी छोरी अझै विद्यालय जान थाल्नु भएको छैन ।

    गाउँपालिकाले तीन वर्षदेखि वडा नं. ३ तमान गाउँमा बालगृह सञ्चालन गरेर अनाथ तथा बेसहारा बालबालिकाको पालनपोषण र पढाउने काम गर्दै आएको छ । अर्थिक वर्ष कमजोर भई पढ्नबाट वञ्चित भएका बालबालिकालाई पनि गाउँपालिकाले बालगृहमा आश्रय लिई पढाउने जिम्मा लिएको छ । बुबाको मृत्युपछि परिवारको नाजुक अवस्थाका कारण पढ्नबाट वञ्चित हुने अवस्थामा पुगेका टोपबहादुर पालिकाले आफ्नो सम्पूर्ण जिम्मा लिएपछि खुसी हुनुभएको छ । अब आफूलाई कक्षा १२ सम्म पढ्नलाई कुनै समस्या नहुने उहाँ बताउनुहुन्छ ।

  “बाबाले अरुको ज्याला मजदुरी गरेर हामीलाई पाल्नुभएको थियो, जसोतसो पढाउँदै आउनुभएको थियो, उहाँको मृत्यु भएपछि अब पढ्न नपाउने भएँ भन्ने चिन्ता लागेको थियो, तर गाउँपालिकाले मेरो लागि ठूलो योगदान गर्ने भयो” विकले भन्नुभयो – “मैले मेहनत गरेर पढ्नु पर्छ, बाबाले देखेको सपना पुरा गर्नेछु, पढ्न नपाइएला कि भन्ने डरबाट मुक्त भएँ ।”

   गाउँपालिकाले तमानगाउँमा घर भाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने २९ जना बालबालिका रहेका छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले आर्थिक अभावमा अब कुनै पनि बालबालिकाले पढ्नबाट वञ्चित हुनु नपर्ने बताउनुभयो । स्थानीय सरकार नागरिकको सुख दुःखमा साथ दिने सरकार भएको हुँदा कोही पनि शिक्षा दीक्षा र भोको पेट बस्न नपर्ने उहाँको भनाइ छ । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने एवं विभिन्न किसिमका सीपमुलक तालिम दिने र रोजगारीको व्यवस्थासमेत मिलाउने अध्यक्ष बुढामगर बताउनुहुन्छ । गाउँपालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको उहाँ बताउनुहुन्छ । 
 
   बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाईमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ । बालगृह सञ्चालनमा आएपछि धेरै बालबालिका शिक्षाको पहुँचमा आएको भन्दै सेवा पनि गुणस्तरीय दिने गरी काम गरिरहेको अध्यक्ष बुढामगरको भनाइ छ ।

   “खासगरी आमाबाबा गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व प्रदान गरी उनीहरुको पालनपोषण र शिक्षा दीक्षा दिने कामको थालनी गरेका छौँ, यसले धेरैलाई राहत मिलेको छ” अध्यक्ष बुढामगरले भन्नुभयो– “बालगृहमा बस्न थालेपछि बालबालिकाको पढाईमा पनि सुधार भएको छ, बालबालिकालाई यहाँ आश्रय मात्रै दिने होइन, असल र दक्ष नागरिक बनाउने हाम्रो जिम्मेवारी हो, सोही अनुसार काम गरिरहेका छौँ ।”---