चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना खुवाइँदै

सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ ।

सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराज, मिसन कलेज र पदमा एन्ड टुरिजम बथनाहाको सहकार्यमा खाना खुवाउने व्यवस्था मिलाइएको हो । सो कार्यक्रमअन्तर्गत बिहान र बेलुका निःशुल्क खाना खुवाउने गरिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिनुभयो ।

परामर्श सेवा केन्द्रले अग्निपीडितका लागि एक सय किलो चामल, २५ किलो दाल, पाँच लिटर खानेतेल, ५५ किलो तरकारी,  ५० किलो  तरबुजा, ४० किलो दही र दुई कार्टुन पानी उपलब्ध गराएको छ । चिम्टी अग्निपीडितलाई कर परामर्श सेवा केन्द्र राजविराजले खाद्यान्न उपलब्ध गराएको छ । सप्तरी युथ नेपालका विपद् व्यवस्थापन समिति संयोजक सत्येन्द्र यादवका अनुसार दैनिक भोजन सेवा सञ्चालन गरी खाना खुवाउने व्यवस्था मिलाइएको हो । उहाँका अनुसार अग्निपीडितलाई  दैनिक बिहान र बेलुका खाना खुवाउने गरिएको छ । 

विगत पाँच दिनदेखि बिहान र बेलुका निःशुल्क रुपमा दैनिक भोजन सेवा अन्तर्गत एक दिन बिहानको खाना, राजविराज नगरपालिका-१० बिरोलका स्थानीय र बेलुकाको खाना गैरआवासीय अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेको संयोजक यादवले जानकारी दिनुभयो ।

    अग्निपीडित खुल्ला आकाशमुनि 

महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडित ७५ वर्षीया लोखनीदेवी यादवको परिवार छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनि बसिरहनुभएको छ । उहाँको परिवारलाई दिन र रात कटाउन मुस्किल परेको छ ।

आगलागीबाट पूर्णरुपमा घर जलेपछि चर्को घाममा पालमुनि बस्दा गर्मीले सताउने र राति सुत्न, बस्न समस्या हुने गरेको उहाँले दुखेसो गर्नुभयो । वैशाख महिनामा दिउँसो हावाहुरी चल्न थालेपछि जीउभरि  धुलो हुने गरेको उहाँले बताउनुभयो । उहाँले समस्या समाधानका लागि सरकारलाई सहयोगको आग्रह गर्नुभयो ।     

अर्का अग्निपीडित दुर्गाप्रसाद यादवले सर्वस्व आगोमा जलेपछि गुजारा गर्ने कुनै उपाय नरहेको बताउनुभयो । उहाँले च्युरा, मुरहीबाहेक अन्य कुनै राहत नपाएको गुनासो पोख्नुभयो ।

७५ वर्षीया अग्निपीडित दुखनीदेवी यादवले  बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछि खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो एउटा पातलो त्रिपालमा छ जना छोरी, एउटा छोरा र नातिनातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौतीे छ ।” आगलागीमा परेको पाँच दिन बित्दासमेत दुईचार केजी च्युरा, मुरहीबाहेक केही नपाएको उहाँको गुनासो छ । 

वडाअध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहतस्वरुप चाउचाउ, मुरही, चिउरा, पानी अग्निपीडितलाई वितरण गरिएको जानकारी दिनुभयो । अग्निपीडितलाई राहत जुटाउने कार्य जारी रहेको उहाँको भनाइ छ । महादेवा गाउँपालिकाले विभिन्न सङ्घसंस्था र स्थानीय प्रशासनसँग पहल गरी रहेको जनाएको छ । 

स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट गत मङ्गलबार दिउँसो सल्किएको आगो निभाउन नसक्दा महादेवा गाउँपालिका–१ चिम्टीका ६२ परिवारको एक सय १४ घर जलेको थियो । जिल्ला प्रशासन कार्यालयले चिम्टीमै सहायता कक्ष स्थापना गरेको छ ।