बयानब्बे लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको रु ९२ लाख २४ हजार नौ सय ८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । 

“यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, उहाँले भन्नुभयो, “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।” मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताउनुभयो । 

नेवा संस्थाको रु ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको रु २७ लाख अनुदान र उपभोक्ताको रु २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । 

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप रु तीन लाख ७५ हजार दुई सय १२ नगद सङ्कलन गरिएको थियो । त्रिभुवन मङ्गला मावि र ¥यालेखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको  वितरण गरिएको हो । 

नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् । संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताउनुभयो । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उहाँले बताउनुभयो ।