प्रचण्ड सरकारको कूटनीतिक विफलताः न श्रम सम्झौता पुनरवलोकन, न लगानी प्रतिबद्धता

काठमाडाै। कतारी राजा शेख तामिम बिल हमाद अल थानीको भ्रमणमा एउटा उच्चस्तरीय पर्यटनमा सीमित भएको छ । नेपालले आफ्नो हैसियतअनुसार खूबै स्वागत सत्कार गर्न खोजे पनि कतारी राजाका लागि केवल नेपाल एक ट्रान्जिट मात्र बन्न पुगेको छ । 

न विपिन जोशीको रिहाइका लागि ठोस पहल भयो । न स्पष्ट लगानी प्रतिबद्धता आयो । न त नेपाललाई कुनै अनुदानबारे कुरा भयो । कतारसँगको हाम्रो प्रमुख कूटनीतिक मामिला नेपाली श्रमिकप्रति मानवोचित व्यवहार हो । त्यसमा पनि कतारले आलटाल मात्र गऱ्यो । प्रगति केही भएन । त्यहाँ कार्यरत नेपाली श्रमिकको अधिकारका विषयमा ठोस छलफल समेत नभएको र नेपालले कुरा उठाउन खोज्दा कतार सुन्नसमेत तयार नभएको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले कतारी राजासँगको भेटमा त्यहाँ रहेका नेपाली श्रमिकको सुरक्षा र सीप विकासको विषयमा कुरा गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताए। ‘नेपालले गरेका प्रस्तावमा विस्तृत अध्ययन गरेर पछि टुंग्याउने भन्ने कुरा भएको छ। प्रधानमन्त्री र कतारी राजाको बीचमा सकारात्मक छलफल भएको छ,’ श्रममन्त्री अर्यालले भने।

नेपालले १९ वर्षपहिलेको नेपाली जनशक्ति रोजगारीसम्बन्धी सम्झौता शेख तमिमको नेपाल भ्रमणको अवसरमा पुनरवलोकन गर्न चाहेको थियो। तर, कतारले नेपालको प्रस्तावअनुसार तत्कालै हस्ताक्षर गर्न अरूचि देखायो।
४ लाख बढी नेपाली श्रमिक रहेको कतारमा उनीहरूको हक अधिकारको विषय सामान्य छलफलमै सीमित भएको छ। 

१९ वर्ष पहिले नेपाली जनशक्ति लैजान दुई पक्षीय सम्झौता भएको थियो। तर, अहिलेको अवस्थामा यो समयसापेक्ष नरहेको भन्दै यसलाई पुनरवलोकन गर्न श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो। 
‘सन् २००५ मा भएको उक्त सम्झौतालाई समय सापेक्ष बनाउन हामीले प्रस्ताव अगाडि बढाएका थियौँ। तर उताबाट कुनै जवाफ नआएपछि अहिलेलाई यो विषय अगाडि बढेन,’ श्रम मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले भने। 

नेपालले पठाएको बुँदागत प्रस्तावप्रति कतारले अनिच्छा व्यक्त गरेको थियो। ‘परराष्ट्र मन्त्रालयमार्फत हामीले बुँदागत रूपमै प्रस्ताव पठाएका थियौँ। तर त्यो प्रस्ताव तत्काल अगाडि बढाउन चाहेको जवाफ हामीलाई प्राप्त भएन। त्यसमा श्रमिककै हकहितका विषय थिए। उहाँहरूबाट रेस्पोन्स आएन, यसको मतलब थप छलफल गर्न चाहनुभएको होला,’ सहसचिव रिजालले भने। 

अहिले राजाको भ्रमणमै नटुंगिए पनि दुई पक्ष बसेर थप छलफल गरिसकेपछि यो विषय टुंगिने नेपालको अपेक्षा छ। नेपालले कतारसँग सम्झौता पुनरवलोकनसँगै नेपाली श्रमिकलाई गरिने व्यवहार त्यहाँका नागरिकसरह नै हुनुपर्ने र नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्नुपर्ने विषय उठाउन चाहेको छ। यी विषयलाई सम्झौतामै सुनिश्चित गर्न नेपालले पहल गरिरहेको छ। 

बुधबार शेख तमिम र प्रधानमन्त्रीबीचको छलफल सकारात्मक भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृतबहादुर राईले बताए। ‘श्रमको विषयमा प्रधानमन्त्रीज्यूले कुराकानी गर्नुभएको छ। सन् २००५ को श्रम सम्झौतालाई संशोधन गर्न प्रस्ताव गर्दा उहाँले ठिकै छ, कुराकानी गर्दै गरौँला भन्ने जवाफ दिनुभयो,’ राईले भने। 

कतारमा अहिले श्रम क्षेत्रमा धेरै सुधार भइसकेको जवाफ पनि कतारी पक्षले दिएको थियो। यस्तै नेपालसँग कतारले महिला घरेलु कामदारहरू लैजाने इच्छा भने व्यक्त गरेको थियो।‘उहाँहरूको विशेष चासो महिला घरेलु श्रमिक लैजानेमा छ। उहाँहरूले यसमा अलिक जोड गरिरहनुभएको छ। यस विषयमा पनि थप छलफल गरेर टुंगोमा पुग्ने कुरा भएको छ,’ प्रवक्ता राईले भने। 

नेपालको दुई दिने भ्रमण सकेर कतारी राजासहितको टोली बुधबार नै स्वदेश फर्किसकेको छ। श्रमिकका विषयमा ठोस सम्झौता हुन नसके पनि विभिन्न विषयमा ८ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ। यी कुनै पनि नेपालले ठोस लाभ प्राप्त गर्ने खालका छैनन्। दीर्घकालीन हित निहित छैनन् । केवल औपचारिक प्रकृतिका छन् । यसले प्रचण्ड सरकारको कूटनीति विफलता उदांगो पारेको छ ।