कर्णालीको भाषा बोल्नैपर्ने वातावरण सिर्जना गरौँ : प्रदेश प्रमुख

कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीको भाषा हरेकले बोल्नैपर्ने वातावरण सिर्जना गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभएको छ । 

फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली साहित्य महोत्सव’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वभरि कहलिएका देशहरु सोच्ने र बोल्ने तरिकाबाट विकसित भएको बताउनुभयो । 

“जसले भाषाको विकास गरे आज ती देशहरु नै अग्रभागमा छन्”, उहाँले भन्नुभयो, “तसर्थ सोच्ने, पढ्ने र बोल्ने तरिकालाई प्रविधिको सहयोग लिएर विश्वमाझ पु¥याऔँ ।”
प्रदेश प्रमुख परियारले भन्नुभयो, “हिजोका पुर्खाहरुले दिएको योगदानका कारण विश्वका अगाडि सिंजा सभ्यता पनि प्रमुख सभ्यता मानिन्छ । अध्ययन तथा अनुसन्धान गर्दै जाँदा यसको इतिहास व्यापक पाउन सकिन्छ ।” 

कर्णाली कला, संस्कृति, भाषा, साहित्य र सभ्यताको जननी मात्र नभई विश्व मानचित्रमा चिनाउन पहिचानसहितको अस्तित्व बोकेको राष्ट्रगुरु योगी नरहरिनाथजस्ता विद्धान जन्माउने प्रचुर सम्भावनाको भूमि भएको उहाँको भनाइ थियो ।