गण्डकी प्रदेश सभा अधिवेशन आह्वानको पत्र पढेर किन स्थगित भयाे?

विपक्षी दलले बहिष्कार गरेको गण्डकी प्रदेश सभा स्थगित भएको छ ।

शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको सूचना पढेर सुनाएका थिए ।  सूचना सुनाएलगत्तै कार्यसूचीमा प्रवेश नगरी बैठकको अर्को मिति तय नगरी स्थगित गरिएको छ ।

आज बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरु भएको जानकारी गराएका थिए । त्यसपछि उनले बैठक बहिष्कार गरेका प्रतिपक्ष दलका सांसदहरूलाई बैठक कक्षमा आउन आग्रह गरेका थिए ।

 प्रतिपक्षी बेञ्च खाली भएपछि सभामुख कृष्णप्रसाद धितालले दोस्रो कार्यसूचीलाई अघि नबढाई बैठक स्थगित गरेका हुन् । यसअघि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय लिएका थिए ।

बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने दोस्रो कार्यसूची थियो । संसदको बैठक कक्ष प्रवेश गर्न सभामुखले तीनपटक प्रतिपक्षीलाई आह्वान गरे । तर, प्रतिपक्षी नआएपछि सभामुखले दोस्रो बुँदा हटाइएको जानकारी गराए र बैठक स्थगित गरे ।

प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । "प्रतिपक्षको आसन खाली रहेको देखिएकाले प्रतिपक्ष दलका माननीय सदस्यहरू सभाहलमा प्रवेश गरेर आआफ्नो स्थानमा गर्नका लागि अनुरोध गर्दछु," धितालले प्रतिपक्ष दलका सांसदहरूलाई आग्रह गरेका थिए ।

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।