माधव नेपाल मच्चिए, मच्चिए, थच्चिए

सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दीर्घ सोडारीहरु कांग्रेससँग मिल्न जाँदासम्म माधव नेपाल गठबन्धनको विकल्प सोच्न सहिरहेका थिएनन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीका नाममा समर्थनपत्र लेख्दासम्म पनि नेपाल त्यसमा सहमत भइसकेका थिएनन् ।

जब कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको ललीपप सँुघाए, त्यसपछि माधव नेपालभित्र अनौठो भूत चढ्यो । केपी शर्मा ओली, एमाले र हालको गठबन्धनको नाम सुन्यो कि ज्वरो आउने स्थितिमा उनी पुगे । जसरी हुन्छ, यो गठबन्धनबाट अलग हुने बहाना खोज्न थाले ।

माधव नेपालको ज्वरोको पारो किन चढ्यो भनेर प्रचण्ड, ओली र झलनाथ खनालहरुले नबुझ्ने कुरै भएन । उनीहरु सकेसम्म गठबन्धन टिकाउने पक्षमा थिए । यही गठबन्धनभित्र विकल्प खोज्न उनीहरु प्रयासरत थिए । सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री नदिने पक्षमा पनि उनीहरु थिएनन् । 

तर, नागरिक उन्मुक्ति पार्टीको समर्थनबिना सरकार बन्न नसक्ने, अनि उन्मुक्ति एक ढिक्का नहुने र त्यस्तो अवस्थामा बनेको सरकार पनि कमजोर हुने भएकाले गठबन्धनले रणनीतिकरुपमा उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो । मुख्यमन्त्री नै दिने भएमा उन्मुक्तिभित्र रडाको मच्चाइरहेको रेशम चौधरी पक्ष कसो गठबन्धनमा सहमति नजनाउला र भन्ने एउटा सामान्य आकलन थियो । 

तर, कांग्रेसले पनि त्यही पासा फ्याँकेपछि पहिलो चरणको सरकार गठन आह्वानमा दुई फरकफरक गठबन्धनबाट उन्मुक्तिकै सांसद मुख्यमन्त्रीको दाबी लिएर प्रदेश प्रमुखकहाँ पुगे । प्रदेश प्रमुख नजिर मियाले यसमा बडो सुझबुझपूर्ण निर्णय गरे । उनीहरु दुवैको दाबी अस्वीकृत गरिदिए र पुनः मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरे । 

दीर्घ सोडारी एमाले र ओलीले रुचाएका पात्र होइनन् । कमजोर नैतिक धरातल र आचरण, अनि कतिपय विवादास्पद प्रकरणहरुमा संलग्नताका कारण एकीकृत समाजवादीभित्रै पनि सोडारी त्यति रुचाइएका पात्र होइनन् । तर पनि उनी संसदीय दलको नेता भएकाले अर्को विकल्पमा जान तत्काल सम्भव भएन । 

त्योभन्दा पनि महत्त्वपूर्ण त माधव नेपालको चुरीफुरी रोक्नुपर्ने अवस्था आयो । यस मामिलामा प्रचण्ड, ओली र खनाल एकमत भए । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिले पनि समर्थन दिने भयो । गठबन्धन जोगाउने र माधव नेपालको चुरीफुरी रोक्ने मूल्यमा सोडारी एक बाध्यात्मक रोजाइ बन्न पुगे । 

माधव नेपाल एक वर्ष, एक महिना वा एक दिन भए पनि प्रधानमन्त्री बन्न चाहन्थे । देउवाले उनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै विभिन्न चरणका बैठकहरु पनि गरिसकेका थिए । कतिसम्म भने माधव नेपाल राष्ट्रिय मान्यताप्राप्त दलको सांसद नभएकाले कतै संविधानमा अड्चन छ कि, राष्ट्रपतिले नमान्ने हुन् कि भनेर पनि छटपटाइरहेका थिए । यहीबीचमा राष्ट्रपतिबाट पनि आफ्नो नियुक्ति नरोक्न पूर्वप्रतिबद्धता खोज्न पुगेका थिए । 

राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो पदीय मयादा उल्लंघन गरेरै कांग्रेसका पक्षमा केही पैरवी गरे । दलहरुको सिफारिस भएमा प्रधानमन्त्रीको दाबी आफू सदर गर्न तयार भन्दै स्वतन्त्र हैसियतका सांसद माधव नेपाललाई वचन दिए । त्यसपछि माधव नेपालको अधीरता झन् बढ्यो । उनी अहिले नै प्रधानमन्त्री भइसकेजस्तो गरी गठबन्धनका कुनै नेताको फोन पनि उठाउन छाडे । आफ्ना पार्टीका दीर्घ सोडारीलाई सहयोग गर्नका लागि प्रचण्ड र ओलीलाई एक कल फोनसमेत गरेनन् । 

उनी यो गठबन्धन भाँड्न चाहन्थे । यो जति सक्दो चाँडो भाँडियो, त्यति नै चाँडो आफ्नो हातमा सत्ता आउने उनले ठानेका थिए । तर, अन्तिममा हिस्स बूढी, हरिया दाँत भए । माधवले नमागेको समर्थन ओलीले सोडारीलाई गरिदिए । माधव मच्चिए, मच्चिए, थच्चिए । 

आफ्नो हैसियतभन्दा माथिको फल ताकेर उफ्रिएमा नराम्रोसँग बजारिन्छ भनेको यही होला सायद । कि कसो माधव नेपालज्यू ?