बालबालिकाको अधिकार संरक्षण हुनुपर्ने भन्दै दुई वर्षकी छोरीकी आमालाई म्याद थप गर्न विशेषको इन्कार

विशेषले पहिलो पटक बालबालिकासम्बन्धी ऐनलाई टेक्दै म्याद थपका लागि इन्कार गरेको छ । सामान्यतया अनुसन्धानका लागि सहजै म्याद थप गरिदिने विशेषले दुई वर्षको छोरी रहेको भन्दै एक आरोपित महिलालाई थुनामा नराखी तारेखमा राख्ने आदेश गरेको हो । 

विशेष अदालतमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद थपका लागि ल्याएको एक मुद्दाका तीन आरोपितमध्ये दुई जनाका हकमा म्याद थप गरेको छ भने एक महिलालाई तारेखमा राख्न आदेश गरेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस÷रिसवतको मुद्दामा तीन जनामाथि अनुसन्धान गरिरहेको छ । उषाकिरण रोकाया, सुरज कुँवर र शिवप्रसाद बराललाई पक्राउ गरी थुनामा राखी अनुसन्धान भइरहेको हो । 

यसरी अनुसन्धानका लागि थप १५ दिन म्याद थप गर्नुपर्ने भन्दै अख्तियार विशेष पुगेको थियो । विशेषले बरालको हकमा ४ गतेदेखि १० र कुँवरको हकमा ५ गतेबाट लागू हुनेगरी दोस्रो पटक नौ दिन म्याद थप गरेको छ । 

उनीहरुले अनुसन्धानमा प्रतिकूल प्रभाव पार्नसक्ने र सबुद प्रमाण नष्ट गर्नसक्ने भएकाले थुनामै राख्नुपर्ने माग अख्तियारको थियो । यस क्रममा उनीहरुको बयान लिने, कल डिटेल माग गर्ने, घटनाका साक्षी तथा रोहवरमा बस्नेको कागज गर्ने, स्क्रिप्ट राइटिङ तयार गर्नेजस्ता विभिन्न कार्य बाँकी रहेको भन्दै म्याद थपको निवेदन पेस भएको थियो । 

यसै घटनामा पक्राउ परेकी रोकायालाई भने म्याद थप गर्न विशेषले मानेको छैन । रोकायाको २६ महिने छोरी छिन् । 

उनले स्तनपानसहित हेरचाह गर्नुपर्ने तर थुनामा रहँदा उक्त दायित्व निर्वाह गर्न नपाएको इजलासलाई जानकारी गराएकी थिइन् । नाबालकको सुरक्षा र संरक्षणमा आमाको हैसियतले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नबाट वञ्चित भएको भन्दै रोकायाले आफूलाई तारेखमा राख्न अनुरोध गरेकी थिइन् । 

जसपछि विशेषले उनको मागअनुसार नै आदेश गरेको हो । बालबालिकासम्बन्धी ऐन, २०७५ ले प्रत्येक बालबालिकालाई आफ्नो आमाको उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार दिएको भन्दै विशेषले यस्तो आदेश दिएको हो । 

रोकायाको अनुसन्धान अधिकारीसमक्ष बयान सकिएको कारण पनि उनलाई थुनामा राख्नु मनासिब नरहेको ठहर विशेषको छ ।