काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आजबाट ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुने

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आजबाट चार दिन अर्थात् वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुने छ । 

प्राधिकरणले मंगलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर [तार]ले बदलीगरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने जानकारी दिएको छ । 

बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् ।