२०८४ को त्रासले कांग्रेसमा अहिलेदेखि नै छटपटी, रविमाथि आधारहीन प्रहार

नेपाली कांग्रेसका युवादेखि वयोवृद्ध नेतासम्मका लागि आँखाको कसिंगर बनेका छन् रवि लामिछाने । लामिछाने तिनै नेता हुन् जसले ठूलठूला अपराध र भ्रष्टाचारको फाइल खोल्न गृह मन्त्रालयको कमान सम्हाल्न पुगेका थिए । उनलाई हल न चल गर्न सक्ने अवस्थामा पुर्‍याउन उनीमाथि शृंखलाबद्ध र संगठित रुपमा प्रहार भइरहेको छ । 

रविको आत्मबल गिराउन त्यस्ता गिरोहरु एकजुट भएका छन्, जसले रविबाट थ्रेट महसुस गरेका छन् । नगरून् पनि किन ? 

रवि त्यस्ता नेता हुन्, जसले राजनीतिलाई पेसा र जीविका बनाउनुपरेन । राजनीतिमै कपाल फुलाउनुपरेन । एकै प्रयासमा उनलाई आमजनताले पत्याए । देसको चौथो ठूलो शक्तिका रुपमा संसदमा पठाए । उनको पार्टीको देशव्यापी संगठन छैन । पूर्णकालीन कार्यकर्ता छैनन् । त्यसैले संगठन चलाउन र कार्यकर्ता पाल्न जायज–नाजायज तत्वहरुसँग साँटगाँठ र मोलाहिजा गर्नुपर्ने छैन । 

यस्तो सस्तो र सुलभ शैलीको राजनीति सम्भवतः आजसम्म कसैले गर्न पाएको थिएन । कांग्रेसमा त २००७ सालदेखि भोटो फटाएर बसेकाहरु पनि छन्, जसले कुनै पद पाइहालिन्छ कि भनेर टोकरी थापेर बसेका छन् । रविसँग त्यस्ता आकांक्षीहरुको लर्को छैन । 

रवि आफ्नो निर्वाचन क्षेत्रका मतदाता किन्नका लागि कर्णालीको जीवनजल कटौती गर्दैनन् । आफ्नो क्षेत्रमा खोला नभए पनि पुल हाल्न बजेट पठाउने र उपभोक्ता समितिमार्फत् घुमीफिरी आफैकहाँ आइपुग्ने संयन्त्र उनले बनाएका छैनन् । 

बरु आरजु राणा र मञ्जु खाणमाथि छानबिन गर्ने भनेर उनी कस्सिएका छन् । अनि किन नहोस् उनीमाथि आक्रमण । 

केही अघिसम्म पोखराको सूर्यदर्शन सहकारीसँग जोडेर रविको चर्चा गरियो । केही दिनलाई अब बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको नाम चर्चाका लागि अगाडि ल्याइएको छ ।
उनलाई अहिले मुद्दा किन दायर गरिएन भनेर प्रश्न गरिँदै छ । गृहमन्त्री भएर प्रहरीलाई दबाब दिएको भनिँदै छ । सडकमा बचतकर्तालाई उतारिँदै छ । 

तर यसो भनिरहँदा रवि कुनै सहकारीका सञ्चालक थिएनन् भन्ने तथ्य लुकाइन्छ । जब उनी सञ्चालक वा कर्मचारी वा बचतकर्ता पनि थिएनन् भने कसरी उनले ऋण लिएका हुन्छन् ? कहीँ गएर दस्तखत गरेर रकम लिएको त हुनुपर्ला नि ? १० लाख रूपैयाँभन्दा माथिको रकम बैंकहरूले नगदै दिँदैनन् । बैंकमै जम्मा गर्नुपर्छ । त्यसो हो भने रविको खातामा जम्मा भएको देखिनुपर्ला नि । खै त उनको खातामा जम्मा भएको ?

कुनै संस्थाले उनको नाम राखेर ऋण सिर्जना गर्‍यो र आफै त्यो रकम चलायो भने दोषी को हुन्छ ? अनाहकमा नक्कली ऋणको बोझ रविले बोक्नुपर्ने ? यो कहाँको न्याय हो ? कसैमाथि फौजदारी आरोप लगाउनुअघि कुनै विश्वसनीय प्रमाण देखाउनु नपर्ने हुन्छ र ?

अब रह्यो ग्यालेक्सी टीभीको कुरा । रवि ग्यालेक्सीमा एकजना तलबी कर्मचारी मात्रै थिए । स्टेसन चलाउन उनलाई विज्ञका रुपमा एमडी नियुक्त गरिएको थियो । लगानीकर्ता एवं सञ्चालकहरु जीबी राई, छविलाल जोशीलगायत थिए । जीबी राई कहाँबाट पैसा ल्याउँछन् भनी जाँची हेर्ने काम रविको थिएन । राज्यका आधिकारिक निकायबाट अनुमति लिएर सञ्चालिन गरिएका संस्थामा कुनै तलबी कर्मचारीले आफ्नो तलबसुविधा र कामका बारेमा चासो राख्छ कि लगानीको स्रोत के हो भनेर खोजी हिँड्छ ? 

जीबी राईको टेलिभिजनमा केही दिन कार्यक्रम गर्नु र त्यसवापतको पारिश्रमिक लिनु नै उनको अपराध थियो भने त्यहाँ काम गर्ने अरु कर्मचारी तथा पत्रकारहरुमाथि पनि प्रश्न उठ्नुपर्ने नै होला । होइन भने रविमाथि गरिएको एकोहोरो प्रहार राजनीतिक प्रतिशोध र २०८४ को चुनावको भयबाट ग्रसित छ भन्ने बुझ्न गाह्रो छैन । 

केपी शर्मा ओली समयको स्पन्दन बुझ्ने नेता हुन् । त्यसैले उनले रविलाई काँधमा बोकेर हिँडेका छन् । अबको युग रविहरुको हो भन्ने उनले बुझिसके । तर कांग्रेस भने अहिलेदेखि नै रविसँग भयातुर भएर जथाभावी आरोप र लाञ्छना लगाइरहेको छ । जसले आज आधारहीन लाञ्छनाको सहारामा अर्काको राजनीतिक व्यक्तित्व सिध्याउने अभीष्ट राखेर सारा संयन्त्र परिचालन गर्न खोजिरहेको छ, कालान्तरमा त्यस धरापमा ऊ आफै नपर्ला भन्न सकिन्न ।