भारतकाे लोकसभा सन्दर्भ : नायिका कंगना रौनावत देखि नायक सञ्जय दत्त सम्मा चुनावी मैदानमा

काठमाडौँ।नायिका कंगना रौनावत देखि नायक सञ्जय दत्त सम्माले आगामी जुन पहिलो तारिकदेखि हुने भारतकाे लोकसभा सदस्यका लागि मैदानमा उत्रिएका छन्। 

बलिउड कलाकारहरू पनि उम्मेद्वार बन्ने विषयलेयति बेला चुनावी माहोल तात्ने क्रममा छ । नायिका कंगना रौनावत भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मण्डीबाट उम्मेदवारी दिने पक्का भएको छ । उनी पहिलो पटक चुनाव लड्दै छिन् ।

नायक गोबिन्दा पनि चुना लड्ने करिब पक्का जस्तै छ । उनी शिवसेना पार्टीका तर्फबाट मुम्बई उत्तर पश्चिमका लागि उम्मेद्वार बन्ने चर्चा छ । उनले सन् २००४ को लोकसभा चुनावमा जितेका थिए । कांग्रेसबाट लोकसभा सदस्य बनेका गोविन्दाले सन् २००८ मा राजनीतिबाट अलग भएको घोषणा गरेका थिए ।

त्यस्तै, अन्य केही कलाकारहरू पहिलादेखि नै राजनीतिमा सक्रिय छन् । उनीहरूले यस पटक पनि उम्मेदवारीलाई निरन्तरता दिने कुरा छ । यसैबीच नायक सञ्जय दत्त पनि राजनीतिमा आउने चर्चा चलेको छ ।

सञ्जयको उम्मेदवारीका बारेमा पछिल्लो समय समाचार र सामाजिक सञ्जालमा चर्चा चलेको हो । उनी कांग्रेसबाट हरियाणाको यमुनानगरबाट चुनाव लड्ने चर्चा चलेको छ । सञ्जय चुनावमा उठ्न लागेको हल्ला चलेको यो पहिलो पटक भने पक्कै होइन ।

सञ्जयका बुबा सुनील दत्त भारतीय कंग्रेसको नेता समेत भएकोले उनको चर्चा चल्ने गरेको हो । उनकी बहिनी प्रिया पनि सोही पार्टीकी नेत्री हुन् । त्यसैले पनि पछिल्ला हरेक जसो निर्वाचनमा उनको उम्मेदवारीका विषयमा चर्चा हुने गर्छ ।

सञ्जय राजनीतिबाट टाढा रहेका व्यक्ति भने होइनन् । उनको परिवार नै राजनीतिमा संलग्न थियो । उनी आफैँले पनि सन् २००९ को लोकसभा चुनावमा समाजवादी पार्टीबाट उम्मेदवारी दिएका थिए । तर हतियार प्रकरण टुंगो नलागेका कारण उम्मेदवारी बदर भएको थियो ।

चुनावमा नउठे पनि पार्टीको महासचिवको जिम्मेवारीमा उनले एक वर्ष काम गरे । तर सन् २०१० मा उनले पार्टी परित्याग गरे ।अहिलेको चुनावमा उम्मेदवारीको चर्चाले उनी स्पष्टीकरण दिन बाध्य भएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत् उम्मेद्वार बन्न लागेको चर्चा झुठो भएको जानकारी दिएका छन् ।

सञ्जयले लेखेका छन्, ‘म राजनीतिमा प्रवेश गर्ने सबै हल्लाको अन्त्य गर्न चाहन्छु । म कुनै पार्टीमा आबद्ध छैन र चुनाव लडिरहेको छैन ।’

चुनाव लड्ने सोच आए पहिला आफैँले घोषण गर्ने उनले बताए । उनले भने, ‘मैले राजनीतिक मैदानमा प्रवेश गर्ने निर्णय गरेँ भने घोषणा गर्ने पहिलो व्यक्ति म आफैँ हुनेछु । कृपया आजकल मेरो बारेमा समाचारमा जे चर्चा भइरहेको छ त्यसमा विश्वास नगर्नुहोस् ।’