विमान खरिदमा साढे १ अर्ब भ्रष्टाचार, यी हुन् प्रतिवादी बनाइएका मुख्य आरोपित

नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ। अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ। 

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको पुष्टि गरे। कुल ३२ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा आपूर्तिकर्तासहित ८ जना विदेशी नागरिक छन् । शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन्। तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए। कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन्।

प्रतिवादी शिशिर ढुंगाना पूर्व अर्थसचिव हुन्। उनी तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बेला वाइडबडी जहाज खरिदमा समझदारीपत्र स्वीकृत गर्न गठित समितिका संयोजक थिए।

त्यसैगरी बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन्। त्यसबेला पनि सहसचिव नै थिए। अन्य प्रतिवादीहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी त्यसबेला नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य थिए।

पहाडी निगमको इन्जिनियरिङ निर्देशकबाट अवकाश प्राप्त हुन्। त्यसैगरी सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला त्यसबेला सरकारका तर्फबाट निगम सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्य थिए।

यो पनि :-

एक अर्ब ४७ करोड भ्रष्टाचारको अभियोग ,कांग्रेस नेता जीवनबहादुर शाहीसहित ३० जनाविरुद्ध मुद्दा