के हो चरमपन्थी संगठन आईएस खोरासान र किन गर्‍यो रुसमा आक्रमण ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको प्रभावमा रहेका मिडियाले शुक्रबार मस्कोको थिएटरमा भएको आक्रमणको लागि युक्रेनलाई दोष दिन खोजिरहेका छन् ।

तर यस हमलाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) खोरासानले लिएको छ । आक्रमणकारीहरूले क्रोकस हलमा उपस्थित मानिसहरूमाथि बन्दुकले आक्रमण मात्र गरेनन्, भवनमा आगजनीसमेत गरेका थिए।

रुसको अनुसन्धान समितिले सार्वजनिक गरेको भिडियोमा कन्सर्ट हलको छाना मात्रै नभई बिम पनि खसेको देख्न सकिन्छ । यस हमलामा १३७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अंग्रेजीमा यस चरमपन्थी संगठनलाई 'ISK' भनिन्छ जुन तथाकथित इस्लामिक स्टेट खोरासानको छोटो रूप हो। यो संगठन वास्तवमा अन्तर्राष्ट्रिय घोषित आतंकवादी समूह, तथाकथित 'इस्लामिक स्टेट' को एक हिस्सा हो। यसको सम्पूर्ण फोकस अफगानिस्तान, इरान र पाकिस्तानमा छ।

यो संगठनले आफ्नो नाम खोरासान राखेको छ किनभने जुन क्षेत्रमा यो सक्रिय छ त्यो इलाकालाई इस्लामिक खलीफाको इतिहासमा यही नामले चिनिएको थियो। तथाकथित इस्लामिक स्टेट खोरासान यस क्षेत्रमा विगत नौ वर्षदेखि सक्रिय छ, तर हालका महिनाहरूमा यो क्रूरता र अत्याचारका लागि परिचित मौलिक 'इस्लामिक स्टेट' को सबैभन्दा खतरनाक सहायक शाखाको रूपमा देखा परेको छ।

यो चरमपन्थी संगठन सिरिया र इराकमा रहेको आफ्नो केन्द्रीय नेतृत्वसँग मिलेर इस्लामिक संसारमा एक तथाकथित खिलाफत प्रणाली ल्याउन चाहन्छ जहाँ उसले आफ्नो इच्छा अनुसार कडा इस्लामिक कानून लागू गर्न सक्छ।

अफगानिस्तानमा यो संगठन सत्तारुढ समूह तालिबानविरुद्ध लडिरहेको छ। तालिबानले यसको वैचारिक रूपमा विरोध गर्दछ।