पाकिस्तानका फास्ट बलर मोहम्मद आमिर टी–२० विश्वकपमा फेरि मैदानमा फर्कने

पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले पाकिस्तान क्रिकेट बोर्डसँगको वार्तापछि आईसीसी टी–२० विश्वकपका लागि फेरि मैदानमा फर्कने तयारी गरेका छन् ।

आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका थिए । ३१ वर्षीय फास्ट बलर हालै पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडिएटर्ससँग खेलेका थिए । उनले ९ खेलमा ८.४१ को इकोनोमी रेटमा १० विकेट लिए ।

आमिरले सामाजिक सञ्जालमा पोस्ट लेख्दै टी–२० विश्वकप खेल्ने इच्छा व्यक्त गरेका छन् । उनले लेखे, "म अझै पनि पाकिस्तानका लागि खेल्ने सपना देख्छु। जीवनले हामीलाई यस्तो मोडमा ल्याउँछ जहाँ हामीले हाम्रा निर्णयहरूमा पुनर्विचार गर्नुपर्छ।"

"म र पीसीबी बीच केही सकारात्मक कुराकानी भएको छ, जहाँ उनीहरूले सम्मानजनक रूपमा मलाई महसुस गराए कि म आवश्यक छु र म पाकिस्तानका लागि खेल्न सक्छु। मेरो परिवार र शुभचिन्तकहरूसँग कुरा गरेपछि, म भन्न चाहन्छु। म टी–२० विश्वकप खेल्न उत्सुक छु।" "म कपका लागि उपलब्ध छु। म यो मेरो देशको लागि गर्न चाहन्छु।"

पाकिस्तान क्रिकेट बोर्डले सोमबार २९ खेलाडीको सूची सार्वजनिक गरेको छ । यी खेलाडीले काबुलमा हुने फिटनेस क्याम्पमा भाग लिनेछन् । यसमा इमाद वासिम र मोहम्मद आमिर पनि छन् । वासिमले सन्यासबाट फर्कने कुरा पनि गरेका थिए ।